Saturday, January 3, 2015

चुरे भावर पार्टी विवादको कारण न्यायाधीश बमको हत्या भएको खुलासा

१९ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या किन गरे होलान् ? यो कौतुहलको अन्त्य गर्दै शनिबार नेपाल प्रहरीले भनेको छ- न्यायाधीश बमले गरेको फैसला चित्त नबुझेपछि चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाले हत्या गरेका हुन् । दुई वर्ष सात महिना लामो अनुसन्धानपछि प्रहरीले घटनाका मुख्य योजनाकार भनिएका बाबु थापासहितसहित चार जना पक्राउ गरेको छ । शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मेघबहादुर थापा सक्कली नाम गरेका बाबु थापा मुख्य योजनाकार भएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यसलाई प्रहरी संगठनको घाँटीमा अडि्एको काँडा निकाले जस्तै भएको बताए ।

हत्याको कारण अदालती फैसला
प्रहरी अनुसन्धानका अनुसार चुरेभावर राष्ट्रिय पार्टीको विवाद नै  हत्याको कारक बन्न पुग्यो । चुरेभावर पार्टीमा अध्यक्ष केशव मैनाली र उपाध्यक्ष थापावीचको विवाद सुरुमा निर्वाचन आयोगमा पुगेको थियो । सुरुमा सहमति गरेर मैनालीलाई नै अध्यक्ष बनाए पनि छुट्टै-छुट्टै महाधिवेशन गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको थियो ।

आयोगले मैनालीको साटो मेघराज थापा भन्ने बाबु थापाको समूहलाई वैधानिकता दिएको थियो । त्यसविरुद्ध मैनाली सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्चमा न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई बैधानिकता दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख डीआईजी मेहन्त मल्ल ठकुरीले भने-‘गृहराज्यमन्त्री हुनै लागेको बेला फैसलाले आफ्नो राजनीति तीन वर्ष सकियो भन्ने भएपछि उनले हत्याको योजना बनाएको देखिन्छ । अदालतको फैसलालाई आफूलाई तीन वर्षसम्म दुःख दिएकाले हत्या योजना बनाएको उनले बयान दिएका छन् ।

त्यसका लागि बाबुले आफ्नो नाम ‘अमर नेपाल’ राखेर नेपाल जनता स्वतन्त्र स्वाभिमान पार्टी बनाए । २०६७ असोजमा अहरण तथा शरीर बन्धक मुद्धामा जलेश्वर जेलमा बस्दा बाबुको करण चौधरीसँग चिनजान भएको थियो । करण छुटेपछि उनले काठमाडौं ल्याएर राखे । बाबुले करण र भगवान भन्ने सञ्जय स्माइली मगरसँग मिलेर न्यायाधीश रणबहादुर बमको हत्या योजना बनाए । प्रहरीका अनुसार करण व्यवसयिक सुटर हुन् ।

मन्दिरमै मार्ने योजना थियो
योजना अनुसार बाबुको समूहले चार थान पेस्तोल र मोटरसाइकल जम्मा पारेको थियो । घटना भएको दिन २०६९ जेठ १८ गते १० बजेतिर बाबु, करण, सञ्जयसँगै प्रेमराज खड्का र दिपक कर्ण कोटेश्वरमा जम्मा भए ।
उनीहरु मध्ये प्रेमराज बाहेक सबैले पेस्तोल बोकेका थिए ।
तीनवटा मोटरसाइकलमा रहेका उनीहरु मध्ये भगवान र शिव ललितपुरको युएन पार्कतर्फ आए भने बाबु एउटा तथ प्रेम र दिपक अर्को मोटरसाइकलमा न्यायाधीश बमको घर भएको स्थलतर्फ लागे ।
प्रहरीका अनुसन्धान अनुसार ट्याङ्लाफाँटा कलंकी क्षेत्रबाट बम चढेको गाडीलाई अघि-पछि गर्दै पछ्याउँदै आएको बाबुको समूहले बंगलामुखी मन्दिरमा नै न्यायाधीशको हत्या गर्ने योजना बनाएको थियो ।
‘धेरै घाइते हुने र भाग्न पनि कठिन हुने देखिपछि बाबुले योजना बदले र साथीहरुलाई त्यही बस्न भनेको देखिन्छ’ डीआइजी ठकुरीले भने ।

न्यायाधीश मन्दिरबाट बाहिर निस्किएपछि बाबुको समुह अघि-पछि गर्दै मोटरसाइकलमा आएको थियो । यूएन पार्क छेउ आएपछि बाबुले ओभरटेक गरेर न्यायाधीश बमको गाडी रोके ।
डीआइजी ठकुरी भन्छन्-‘न्यायाधीशका सुरक्षाकर्मीमाथि करणले पहिलो फायर गरे । लगत्तै भगवानले गाडीको पछिल्लो सिटमा बसिरहेका न्यायाधीश बममाथि गोली हाने ।
सुरक्षाकर्मी घाइते भएपछि दुबैले बममाथि गोली हाने । बमलाई हानेको गोली सँगै गाडीमा रहेका राम गिरीलाई पनि लाग्यो । घटनाका योजनाकार बाबुले त्यो सबै हेरिरहे ।

न्यायाधीशको हत्यापछि उनीहरु बाग्मती किनारको बाटो सहयोगीनगर पुगे, जहाँ रातो रंगको मोटरसाइकल छाडेर काँडाघारीस्थित बाबुको घरमा पुगेको देखिन्छ’ प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार घटना हुँदा बिहान ११ बजेर २ मिनेट गएको थियो । ६ वटा गोली लागेका न्यायाधीश बमलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो, तर उनको बाटैमा निधन भइसकेको थियो ।
घटनामा प्रयोग भएको बा ४३ प ७२०८ नम्बरको मोटरसाइकल चोरीको थियो, जुन प्रहरीले सहयोगीनगरबाट बरामद गरेको थियो । बाबुको समूहले २० हजारमा किनेको उक्त मोटरसाइकलमा अर्कैको नम्बर प्लेट लगाइएको पाइएको छ ।

सर्लाही र जनकपुरबाट पक्राउ
घटनामा संलग्न चार जनालाई प्रहरीले घटना भएकै गते १८ मा सर्लाही र जनकपुरबाट पक्राउ गर्न सफल भएको छ । बमको हत्या ०६९ जेठ १८ गते भएको थियो । प्रहरीले उनीहरुलाई ३१ महिनापछि ०७१ साल पुस १८ गते पक्राउ गरेको छ ।
सर्लाहीको मिलनचोक ढुङ्गेखोला ४ का ३८ वर्षका बाबु र हरिवनका नविन भन्ने प्रेमराज सर्लाहीबाट पक्राउ परेका हुन् । एसएलसी पास गरेका बाबु अपराधिक मानसिकताको भएको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए ।

अनुसन्धानका क्रममा बाबु यसअघि पनि पक्राउ परेका थिए । तर, प्रमाण नपुगेकाले छाडिएको भन्दै प्रहरी प्रमुख अर्यालले अहिले प्रमाणसहित पक्राउ गरिएको बताए ।
अर्का दुई अभियुक्त जनकपुरका दीपक कर्ण र शिव भन्ने करण चौधरी जनकपुरबाट पक्राउ परेका हुन् ।
रामेछापका सञ्जय इस्माली फरार छन् । उनी साउदी अरब पुगेको प्रहरीले पत्ता लगाएको छ । मुद्दा प्रक्रिया सुरु भएपछि इन्टरपोलमार्फत उनलाई पक्राउ गरी नेपाल ल्याइने प्रहरीले बताएको छ ।


0 comments:

Post a Comment