Thursday, January 8, 2015

कहिल्यै नथाक्ने हाम्रो अंग मस्तिष्क, यस सम्बन्धी समस्याहरु :

आज पनि तपाइँले आफ्नो मस्तिष्कको प्रयोग अवश्य गर्नु भएको छ । किनभने तपाइँले यसको प्रयोग केवल कुराहरु सम्झनलाई मात्र नभएर खाँदा, बोल्दा, हिँड्दा, खुसी वा दुःखी हुँदा र सुत्दासमेत यसको प्रयोग गर्नु भएको छ । कहिलेकाहीँ हामी केही कुरा सम्झने प्रयास गरिरहेका हुन्छौँ । यस बेला हाम्रो मस्तिष्कले काम गरिरहेको महसुस गर्न सक्छौँ । तर हाम्रो मस्तिष्कले गर्ने अरु धेरै कामहरुको बारेमा त हामीलाई पत्तो नै हुँदैन । brainजस्तै यसले हाम्रो मुटुको धड्कन, श्वासप्रश्वास, पाचन प्रक्रिया र हाम्रो शरीरमा भइरहने अरु थुप्रै प्रक्रियाहरुलाई नियन्त्रण गर्छ । यसरी नियन्त्रण गर्ने काम हाम्रो मस्तिष्कले दिन होस् या रात, हरेक सेकेण्ड हामीलाई थाहै नदिई गरिरहन्छ । हामी सुतेको बेला पनि यो प्रक्रिया भइरहन्छ । यसले कहिल्यै पनि आराम गर्दैन । सँधै केही न केही काम गरिनैरहेको हुन्छ ।

मस्तिष्क हाम्रो टाउकोभित्र हुन्छ । यो टाउकोमा अति नै बलियो हाडहरुभित्र सुरक्षित रुपमा रहेको हुन्छ । जसलाई हामी खप्पर भन्ने गर्छौँ । मस्तिष्कको बाहिरी भागमा मेनिन्गीज (meninges) नामक तीनवटा तहहरु हुन्छन् । दुईवटा तहको बीचमा भने पानीजस्तै तरल पदार्थ हुन्छ । जसलाई सेरेबोस्पाइनल फ्लुइड (cerebospinal fluid) भनिन्छ । मेनिन्जीस् र सेरेबोस्पाइनल फ्लुइड दुवै मिलेर मस्तिष्कको रक्षा गर्ने गर्छ ।
शरीरका अन्य भागहरु जस्तै मस्तिष्क पनि लाखौँ कोषहरु मिलेर बनेको हुन्छ । मस्तिष्कमा पाइने कोषहरुलाई नर्भ सेल वा न्यूरोन (Neurone) भनिन्छ । हरेक कोषको लामो तारजस्तो भाग हुन्छ । जसलाई नर्भ फाइबर वा एक्जन (Axon) भनिन्छ । यसमा पनि डेन्ड्राइट नामक हजारौँ स–साना भागहरु हुन्छन् । जुन एक्जनबाट बाहिर निस्केर अरु हजारौँ कोषहरुलाई छुने काम गर्छ । यसरी नसाहरुको एउटा ठूलो सञ्जाल नै निर्माण हुन्छ । यहीँबाट अरु ठाउँहरुमा विभिन्न संकेतहरु पठाइने काम गरिन्छ । हरेक सेकेण्ड लाखौँ संकेतहरु यही बाटो भएर लाखौँ कोषहरुमा बाँडिने गर्छ । यही संकेतहरु मिलेर हाम्रो सोँच, उपाय, भावना र सम्झनाहरु बन्ने गर्छन् ।

बाहिरबाट देख्दा हाम्रो मस्तिष्क चाउरी परेको ठूलो ओखरजस्तो देखिन्छ । यसको रंग गुलाबी–खैरो हुन्छ । यो चाउरी परेको भागलाई सेरेब्रम भनिन्छ । यो सेरेबल ध्रुव भनेर दुई भागमा बाँडिएको हुन्छ । तिनीहरु सेरेबल र्कोटेक्स नामक ५ मिलिमिटर बाक्लो तहले छोपिएको हुन्छ । यसलाई ग्रे म्याटर पनि भनिन्छ । यहाँबाट हाम्रो सोच्ने, हेर्ने, सुन्ने, महसुस गर्ने, स्वाद थाहा पाउँने प्रक्रियाहरु र हाम्रो चाल नियन्त्रण हुन्छ ।
मस्तिष्कको बीचमा थ्यालामस नामक दुईवटा अण्डा जस्ता भागहरु हुन्छन् । यसको काम भनेको हामी जागा हुने र सुत्ने प्रक्रियाको नियन्त्रण गर्नु हो । यसको साथसाथै यसले हाम्रो देखेको र सुनेको कुराहरुको बारेमा खबर पठाउने काम पनि गर्छ । थ्यालामसको मुनि हाइपोथ्यालामस हुन्छ । यसले हाम्रो शरीरको तापक्रम नियन्त्रण गर्ने जस्ता कामहरु गर्छ । यसले हाम्रो डर, रिस, भोक र तिर्खालाई पनि नियन्त्रण गर्छ ।
थ्यालामसको छेउमा बेसल ग्याङ्गिला नामक कोषहरुको समूह हुन्छ । यसले हाम्रो हिँडाइ र चपाउने प्रक्रियालाई नियन्त्रण गर्छ । यसको ठीक मुनि अंग्रेजी अक्षरको सी (C) आकारको हिप्पोक्यामस हुन्छ । यसले हाम्रो स्मरण शक्तिलाई नियन्त्रण गर्छ । यसले भर्खरै घटेको घटनालाई महिनौँ वा वर्षौसम्म साँचेर राख्ने गर्छ । तर हरेक समय स्मरणको लागि मस्तिष्कको यही भागको प्रयोग भने हुँदैन । मस्तिष्कको जुन पनि भागमा कुनै कुराको स्मरण रहेको हुनसक्छ ।
मस्तिष्कको तल्लो भाग बिरुवाको डाँठ जस्तै पातलो हुन्छ । जहाँबाट आफैं भइरहने प्रक्रियाहरु जस्तै मुटुको धड्कन र श्वासप्रश्वास आदि नियन्त्रण हुन्छ । यो भागलाई मेडुला अब्लङ्गाटा भनिन्छ । यसको ठीक पछाडि सेरेबेलम हुन्छ । यसले हाम्रो मांशपेशीलाई नियन्त्रण गर्छ ।

हाम्रो स्नायुप्रणाली :

मस्तिष्कले आफैंमात्र धेरै काम गर्न सक्दैन । हाम्रो शरीरमा भएको स्नायुप्रणालीको मद्दतमा यो सञ्चालन भइरहेको हुन्छ । स्नायु प्रणालीको सहयोगबिना त यो किबोर्ड र माउस नभएको कम्प्युटरजस्तो मात्र हुन्छ । स्नायुप्रणालीकै मद्दतले यो शरीरका विभिन्न भागहरुसँग जोडिएको हुन्छ । शरीरको विभिन्न भागहरुमा नसाहरु फैलिएको हुन्छ । हरेक नसामा कयौँ फाइबरहरु हुन्छन्, जहाँबाट हजारौँ संकेतहरु आदानप्रदान हुने गर्छ । यसरी हाम्रो मस्तिष्कमा संकेतहरु पुर्याउने काम गर्ने नसालाई सेन्सरी नर्भ (Sensory Nerve) भनिन्छ । मस्तिष्कबाट संकेतहरु विभिन्न भागहरमा ल्याउने काम गर्ने नसालाई भने मोटर नर्भ (Motor Nerve) भनिन्छ ।
शरीरको मुख्य नसा भनेको मेरुदण्डमा रहेको स्पाइनल कर्ड हो । यसको मोटाई लगभग हाम्रो कान्छी औँला जत्रो हुन्छ । यहाँबाट ३१ जोडी नसाहरु देब्रे र दाहिने भागबाट शरीरको विभिन्न भागहरुमा छुट्टिने गर्छन् । मस्तिष्कबाट पनि १२ जोडी कार्नियल नसाहरु छुट्टिने गर्छन् ।

मस्तिष्क सम्बन्धी समस्याहरु :

मस्तिष्कमा धेरै समस्याहरु आउने गर्छन् । तीमध्ये सबैभन्दा धेरै पटक देखिरहने समस्या भनेको स्ट्रोक हो । यो बेला हाम्रो मस्तिष्कमा रगत लाने नसाहरुमा बाधा आएर छेकिने गर्छ । यसरी नसा छेकिएपछि मस्तिष्कमा रगतको सट्टा अक्सिजन पुग्छ र मस्तिष्कको केही भाग नस्ट हुन्छ । त्यसपछि भने मानिसले आफ्नो शरीरको केही भागबाट नियन्त्रण गुमाउन पुग्छ । कहिलेकाहीँ मस्तिष्कमा छारेरोग पनि लाग्ने गर्छ । यो रोग लागेपछि मस्तिष्कमा जथाभावी रुपमा संकेतहरु आउँछ र हाम्रो मस्तिष्कले जथाभावी काम गर्न थाल्छ । यस्ता संकेतहरुलाई ECG गरेर थाहा पाउन सकिन्छ ।

0 comments:

Post a Comment