Friday, January 9, 2015

यो नमिलेको संघीयताले देशलाई ऐनासरी टुक्राउन सक्छ : मह जोडी

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विचार नपुर्‍याई ल्याइएको संघीयताले देश टुक्राउन सक्ने चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित नागरिक समूहको कार्यक्रममा बोल्दै हरिवंश आचार्यले लामो सिसामा सानो घनले हिर्काउँदा पनि कामै नलाग्ने गरी टुक्रा टुक्रा हुने भएकाले पूर्व झापादेखि पश्चिम कञ्चनपूरसम्मलाई एकै प्रदेश बनाउँदा देश टुक्रा पर्न सक्ने बताएका हुन्। उनीहरुले दलका नेताले आफ्नो निहित स्वार्थका लागि देशको एकतालाई जोखिममा नराख्न पनि आग्रह गरेका छन्।

हिजो म घरको लागि ऐना किन्न गएको थिएँ, पसलेले आकार नापेर लामो ऐना काटे, एक छिनमा सानो घनले त्यसमा ठोक्किदा त्यो कामै नलाग्ने गरी टुक्राटुक्रा भयो, त्यतिबेला मैले देश सम्झिएँ। मेचीदेखि महाकालीसम्मका जिल्ला जोडेर एक प्रदेश बनाउने संघीयता त्यही सिसा जस्तै हो, जतिबेलापनि टुक्रन सक्छ', आचार्यले आफ्नो कुरा राखे।

उनले देशलाई विखण्डन गर्ने लामो सिसा जस्तो संविधान र संघीयता आउनुभन्दा नआएको नै वेस हुने बताए। संविधान विशेषज्ञले लेख्ने र संविधान सभाले त्यसलाई अनुमोदन मात्र गर्नु पर्ने आचार्यको भनाइ थियो।

अचेल आफूले दिएको वचन पनि पूरा नगर्ने नेताहरुको अनुहार हेर्दा दिक्क लाग्ने गरेको उनले बताए। आचार्यले बाचा पूरा नगर्ने नेताहरुको अनुहार दिनदिनै टिभीमा हेर्नुभन्दा अचेल समाचार हेर्नै छोडको पनि बताए। 'अचेल म समाचारपत्रमा शीर्षक पढेर नै छोडिदिन्छु, किनकी समाचारमा के हुन्छ सबैलाई थाहा हुन्छ', आचार्यले भने।

'एक वर्षमा संविधान बनाउँछु भनेका नेताहरुले आफ्नो बाचा पूरा नगरेकाले आजभोलि नेताको नाम लिँदा नराम्रोमात्र तस्वीर आउँछ, तरपनि नेताको विकल्प नेतै हुन्छ' आचार्यले भने।

आचार्यको कुरामा सही थाप्दै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले जातीय संघीयताले देशको भलो नगर्ने बताए। कि पढेर जानिन्छ, कि परेर जानिन्छ भन्थे तर नेताले न पढेर जाने नत परेर नै जानेको नै बताए। 'जातीय आधारमा संघीयता बनाउँदा समाजको सहिष्णुता खतरामा पर्छ भन्ने जान्दा जान्दा पनि त्यही कुरा उठाउँने नेतालाई के भन्ने?' श्रेष्ठले भने।

देशलाई अफ्ठेरो पर्दा महजोडी नाटक र टेलिसिरियल छोडेर सडकमा आउने गरेको स्मरण गर्दै श्रेष्ठ र आचार्यले माघ आठमा संविधान ल्याउने वाचा नेताहरुले पूरा नगरे सडकमा आउनुपर्ने बाध्यता रहेको पनि बताए।  

भिडियो हेर्दा आँशु रोक्न सकिन

 कार्यक्रममा कसैले फेसबुकमा सेयर गरिदिन पठाएको एक भिडियो हेरेर आफूले आँसु थाम्न नसकेको पनि बताए। उनलाई फेसबुकमा आएको भिडियोमा एक जना महिलालाई अरबी पुरुषले चप्पलले हिर्काइरहेको छ, ती महिलाले नेपाली भाषामा मलाई 'नकुट्नुस सर, अबदेखि गल्ती गर्दिन' भन्दै विलौना गरिरहेकी छन्। 'नेपाली महिलालाई पराई पुरुषले जुत्तैजुत्ताले हिर्काएको सहन नसकी मेरा आँखाबाट आसु बगे', आचार्यले भने। देशमा भएको स्रोत साधन र सम्पदाको उपयोग गर्न नसक्दा नेपाली चेलीले पराइ पुरुषको लात खानुमा नेताको दोष रहेको उल्लेख गर्दै आचार्यले भने 'ती महिलाको ठाँउमा बरु नेपालका नेता भए ठिक्क हुन्थ्यो।'

 संविधान नबनेसम्म मेरो आत्माले शान्ति पाउँदैनः मन्त्रीपरिषदका पूर्व अध्यक्ष रेग्मी

 कार्यक्रममा उपस्थित पूर्व प्रधानन्यायधीश तथा मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान नबनेसम्म आफ्नो आत्माले शान्ति नपाउने बताएका छन्। 'मन्त्रिपरिषदको अध्यक्ष पद छोड्दा मैले भनेको थिएँ, एक वर्षभित्र संविधान बने मेरोआत्माले शान्ति पाउनेछ र मेरालागि सबैभन्दा ठुलो पुरस्कार पनि त्यहिँ हुनेछ' रेग्मीले भने 'तर एक वर्षमा संविधान नबन्ने भएको छ, सम्झँदा अहिलेपनि मलाई पीडा र सन्ताप हुन्छ।

0 comments:

Post a Comment