Monday, January 5, 2015

पूजा बलात्कार काण्डमा किन भयो कमजोर सरकारी अनुसन्धान ?

२१ पुस, काठमाडौं । १४ वर्षको उमेरमा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी पूजा बोहोराले ‘मेरो जीवन निमोठ्नेहरु निर्दोष हुन् ?’ भन्दै कानूनमन्त्रीलाई सार्वजनिक पत्र लेखेपछि एक प्रकारले नेपालको न्यायप्रणालीको जग नै हल्लियो ।


२०६८ साल चैैतमा एसएलसी परीक्षा दिन गएकी बोहोरा सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जिल्ला अदालत बैतडीले सागर भट्ट र अमर अवस्थीलाई १३ वर्ष जेल सजायँ सुनाएको थियो ।
puja bohoraतर, पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीश रमेशराज भण्डारी र नरबहादुर साहीले जिल्ला अदालतको फैसला उल्टाएर आरोपितलाई सफाइ दिएपछि पूजाले कानूनमन्त्रीलाई पत्र लेखेकी थिइन् । त्यो पत्रपछि एकप्रकारले सिंगो देश पूजाको पक्षमा उभिएको छ र बलात्कारीलाई कारवाही गर्न माग गरेका छन् ।
तर, न्यायाधीशको फैसला आइसक्यो, अब सर्वोच्च अदालतको फैसला कुर्नु बाहेक अन्य बैधानिक बाटो छैन । सरकारले पुनरावेदनको फैसला पुनरावलोकनका लागि मंसिर १८ गते आवेदन दिएको छ र माघ ४ गतेका लागि पहिलो पेशी तोकिएको छ ।

तर, जिल्ला अदालतको फैसला पुनरावेदनले के अधारमा उल्ट्यो भन्ने प्रश्न उठेको छ । कतै प्रहरी अनुसन्धान फितलो भयो भन्ने आवाज उठेको छ भने फैसला गर्ने न्यायाधीशहरु राजनीतिक पृष्ठभूमि भएकाले मिलोमतोको आशंका पनि भएको छ ।
महान्यायाधिवक्ता बाबुराम कुँवरले भने-‘पीडित (पूजा) को शरीरमा मावन शुक्रकीट र रौं पनि भेटिएको थियो । तर, अझैसम्म डीएनए टेष्ट हुन सकेको छैन ।

अभियुक्तलाई सफाइ दिँदा पुनरावेदनका न्यायाधीशद्वय भण्डारी र साहीले यही कडी समाएका छन् । फैसलामा भनिएको छ-‘जाहेरीवालीको कट्टुमा देखिएको ती मानव शुक्रकीट र रौंहरु यिनै प्रतिवादीहरुको नै हो भनी किटानी भएको नदेखिँदा रिपोर्टले नबोलेको तथ्यलाई अदालतले आफैंले अनुमान गरी उक्त मानव शुक्रकीट र रौंहरु यिनै प्रतिवादीहरुको नै हो भनी किटानी गर्ने अवस्था रहँदैन ।’
जिल्ला अदालतले फैसला गर्दा ‘पीडितले वारदादको समयमा लगाएका कपडाहरु मध्ये कट्टुमा प्रतिवादीहरुको मानव शुक्रकीट र रौंहरु भेटिएको’ भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंको रिपोर्टलाई मूल आधार मानेको छ ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काडमाडौंले ल्याबमा भएको प्रविधिबाट पीडितको कट्टुमा भेटिएको मानव शुक्रकीट अभियुक्तको शुक्रकीटसँग मेल खान्छ भन्ने सकिने अवस्था नभएको उल्लेख छ ।
तर, रक्षा नेपालका कानुनी सल्लाहकार स्वागत नेपाल भन्छन्-‘प्रयोगशालाको रिपोर्टमा भेटिएको शुक्रकीट अभियुक्तको होइनन् भनिएको छैन । त्यसैले अब मेरो होइन भनेर प्रमाणित गर्ने काम त उनीहरुको हो ।’ यसलाई नै आधार बनाएर बलात्कार भएकै थिइन् भन्ने नमिल्ने समेत उनले बताए ।

किन कमजोर अनुसन्धान भयो त ?
नेपालमा सरकारवादी अधिकांश मुद्दामा प्रतिवादी विजयी हुने गरेको छ, जुन पूजा बोहोराको बलात्कार काण्डमा पनि भयो । संसदको विधायन समितिमा सभासदहरुले पूजा बोहोराको बलात्कार मुद्दामा प्रहरी अनुसन्धानमा प्रश्न उठाए । अधिवक्ता समेत रहेका एमाले प्रमुख सचेतक अग्नि खरेलले भने-‘एउटा अदालतले दोषी ठहर गर्ने, अर्कोले सफाइ दिने कसरी हुनपुग्यो । अनुसन्धानमा भएको कमजोरीलाई नै छेकेर भयो ।’
महान्यायाधिवक्ता कुँवर पनि सरकारवादी मुद्दाहरुमा अनुसन्धान कमजोर हुने गरेको स्वीकार गर्छन् । ‘अनुसन्धान गर्ने पुलिस इमान्दार र दक्ष हुनुपर्छ । तर, यो राज्यको औकात र क्षमतामा भरपर्छ’ कुँवरले भने-‘हामी शंकाका आधारमा नै मुद्दा दर्ता गर्छौं ।’
आवश्यक साधन स्रोतसँगै मुद्दा गर्दा नगरे किन छाड्यो भनेर प्रश्न आउने भएकाले पनि यसो हुने गरेको उनले बताए ।
 प्रधानन्यायाधीशले भने- अहिले केही गर्न सकिन्न
पूजाले पत्र लेखेर न्याय मागेपछि कानुनमन्त्री नरहरि आचार्यले सार्वजनिक जवाफ दिए । साथै पुस १ गते के भएको रहेछ भनेर न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश रामकुमार साहलाई पत्र लेखे ।
तर, साहले भने सर्वोच्च ‘अदालतमा विचाराधीन मुद्दामा प्रमाण र कानूनबमोजिम ठहर भएअनुसार हुने भएकाले पत्रिकाको समाचार अंशका आधारमा मात्रै केही गर्न कानून संगत नहुने’ भने जवाफ पठाएका छन् ।

अझै आश मरेको छैन : पूजा
सामुहिक बलात्कारको शिकार भएकी पूजाले अझै न्याय पाउने आश नमारेको बताइन् ।
रक्षा नेपालको संरक्षणमा रहेकी पूजाले अनलाइनखबरसँग भनिन्-एकपटक न्याय पाएको अवस्थामा विश्वासघात भयो । फेरि त्यस्तै हुन्छ कि, अपराधी छुटेको छुट्यै हुन्छ कि जस्तो लाग्छ । तर, मैले पाएको साथ र समर्थन हेर्दा न्याय पाउँछु भन्ने आश मरेको छैन ।’

0 comments:

Post a Comment