Wednesday, January 7, 2015

वस दुर्घटनामा बा–आमा गुमाएका २१ बालबालिको विचल्ली

जाजरकोट, पुस २२ – गत मंसिर ४ गते जाजरकोटमा भएको दर्दनाक वस दुर्घटनाबाट आमा–बुवा गुमाएका २१ बालबालिकाहरु विचल्लीमा परेका छन् । जिल्लाको भुर गाविसको रावतगाउँमा ५२ जनाको मृत्यु २ जना वेपत्ता र ११ जना घाइते हुने गरी भएको भयानक बस दुर्घटनामा परी आमाबुबा गुमाउने छोराछोरीहरु विचल्लीमा परेका हुन् ।


वस दुर्घटनाका कारण घरमा कमाई ल्याउने मुख्य व्यक्ति नै गुमाएपछि अधिकांश बालवालिकाहरुको भरणपोषणमा समस्या परेको छ । वस दुर्घटनाबाट संरक्षकविहिन भएका २१ वालवालिकाहरुको जिल्ला वालकल्याण समितिले विवरण तयार पारेको छ ।
सोमवार प्रमुख जिल्ला अधिकारी जगतवहादुर वस्नेतको अध्यक्षतामा वसेको जिल्ला बाल कल्याण समितिको वैठकले बस दुर्घटनामा आमा वुवा र अन्य अभिभावक गुमाएका वालवालिकाहरुको संरक्षण स्याहार र अन्य सुरक्षाको व्यवस्था गरिदिन केन्द्रीय बालकल्याण समितिलाई आग्रह गर्ने निर्णय गरेको हो । विचल्ली पर्नेहरुमा ३ महिना देखि १० वर्षसम्मका बालवालिकाहरु रहेका छन् ।

जिल्ला बालकल्याण समितिले तयार गरेको अभिलेख अनुसार अधिकांश वालवालिकाहरुका बुवाको मृत्यु भएकोले उनीहरुको पालनपोषणदेखि अन्य सुरक्षामा समस्या देखिएको बताइएको छ । आर्थिक अभावका कारण अधिकांश वालवालिकाहरु मावली घरमा वस्न बाध्य भएको र उनीहरुको भरणपोषण र पढाइमा समेत समस्या परेको जिल्ला वालकल्याण अधिकृत डम्बर बहादुर रोकायले वताए ।
उनका अनुसार विचल्लीमा पर्नेहरुमा डाँडागाउ ७ की ५ महिनाकी सुशीला पुन, डाँडागाउ ४ की ९ वर्षीय सर्मिला गिरी, ७ वर्षीया विनीता खड्का, डाडाँगाउ ७ का ४ वर्षीया कमला रोकाय, ६ वर्षीय वीरवहादुर रोकाय, ९ वर्षीया चन्द्रा रोकाय, ३ महिनाका मदन रोकाय, १० वर्षीय गणेश वुढा, ३ वर्षीय रामवहादुर पुन, ७ वर्षीया विजया पुन, १ वर्षीय टेकराज पुन, ६ वर्षीया लक्ष्मी वुढा र ७ वर्षीय सन्देश वुढा रहेका छन् ।

त्यसैगरी लहँ २ थाप्लाकी ९ वर्षीया विनिता खड्का, ५ वर्षका विकास खड्का, डाडाँगाउँ ९ का ४ वर्षीय प्रशान्त रोकाय, खलंगा ६ तिलिंगेकी १० वर्षीया पुष्पा खड्का र उनकी वहिनी ९ वर्षीया अस्मीता खड्का र भाइ ६ वर्षीय गुणराज खड्का, खलंगा १ वाहुनवाडाकी ९ वर्षीया स्मारीका केसी र उनका भाइ ६ वर्षीय उत्सव केसी रहेका छन् । डाडाँगाउँ ४ की सर्मिला गिरी र विनीता खड्का वाहेक अन्य १९ वालवालिकाहरुले वुवा गुमाएका छन् ।
उनीहरुलाई आवश्यक सहयोग र भरणपोषणको व्यवस्था एवम अन्य सुरक्षाको व्यवस्थाका लागि आफुहरुले केन्द्रिय वालकल्याण समितीसंग अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी जगतवहादुर बस्नेतले वताए । उनले आर्थिक अवस्था र उचित अभिभावकको अभावमा ती वालवालिकाहरु विचल्लीमा परेको वुझिन आएकोले उनीहरुलाइ सहयोग र संरक्षणका लागि सरोकारवाला निकायहरुलाइ आग्रह गरिएको वताए ।

कमाइ गर्ने मुली नै गुमेपछि छोराछोरीको भरणपोषणमा निकै कठिनाइ भएको वस दुर्घटनामा प्रदेश ंिसह खत्री श्रीमानलाई गुमाएकी खलंगा १ की लक्ष्मी रेग्मीले बताइन् । उनले दुई छोराछोरीको भविष्यको मात्र नभइ उनीहरुलाई कसरी पाल्ने भनेर चिन्ता लाग्ने गरेको बताइन् । उनी जस्तै डाडागाउँ ९ की चन्द्रा रोकाय पनि कमाइ गर्ने घरका मुली श्रीमान् भीमवहादुर रोकायको मृत्यु भएपछि सानो छोरालाई के गरेर पाल्ने भनी चिन्ताले सताउने गरेको वताइन् ।

यसै विच भेरी वस दुर्घटनामा आफन्त गुमाएका पिडितहरुले राज्य र मध्य पस्चिम यातायात व्यावसायी समितिले आफुहरुलाई दिने भनेको राहत सहयोग नदिएको भन्दै विरोध स्वरुप पुस २४ र २५ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने भएका छन् । वस दुर्घटना पीडित संघर्ष समितीको सोमवार वसेको वैठकले राहत सहयोगका लागि सरोकारवाला निकायलाइ दवाव दिन धर्ना दिन लागिएको संघर्ष समितिका संयोजक पदम खत्रीले वताए ।

0 comments:

Post a Comment