Saturday, January 17, 2015

के तपाई धुम्रपानको लतबाट छुटकारा चाहनुहुन्छ ? अब रगत जाँच गरे थाहा हुनेछ

धुम्रपानको लतबाट छुटकारा पाउने उपायको खोजीका हुनुहुन्छ ? त्यसो हो भने आफ्नो रगत जाँच गराउनुहोस् । धुम्रपानको आदतबाट मुक्त हुनका लागि रक्तपरीक्षण सहयोगी बन्ने एक अनुसन्धानले देखाएको छ ।
ल्यासेन्ट जर्नलमा प्रकाशित शोधमा बताइएअनुसार रगतको जाँचबाट धुम्रपानको लत छाड्नका लागि कुन तरिका अपनाउनुपर्छ ? भन्ने विषय थाहा पाउन सकिन्छ ।


अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनबाट के तथ्य पत्ता लागेको छ भने धुम्रपान छोडेको निधो गरेका मानिसमध्ये ६० प्रतिशतले छाडेको एक हप्तापछि नै फेरि धुम्रपान गर्न सुरु गर्ने गर्छन् । तर यदि कुनै व्यक्ति सुर्तिजन्य पदार्थमा पाइने निकोटिनका अगाडि कति छिटो आफुलाई समर्पित गर्दछन् भन्ने कुरा थाहा पाउन सकिएमा धुम्रपान त्यागको सफलताको प्रतिशत बढाउन सकिने शोधकर्ताहरुको ठम्याई छ ।

चुरोटमा पाइने निकोटिनले सरीरमा तलतली पैदा गर्छ । त्यसकारण धुम्रपानको लत लागेका मानिसहरुले चुरोट सुर्ति नखाएमा जिउमा निकोटिनको आवश्यकता महसुस हुन थाल्छ र पुनः चुरोट पिउने वा सुर्ति सेवन गर्ने तलतली लाग्छ । त्यसकारण व्यक्तिले पुनः धुम्रपान गर्न थाल्छ ।
मानिसहरुमा व्यक्तिपिच्छे निकोटिनप्रतिको इच्छा भने फरक फरक हुन्छ ।
जो मानिस निकोटिनको लतका अगाडि छिटो असफल हुन्छन् उनीहरुले धेरै धुम्रपान गर्छन् र त्यस्ता मानिसहरुलाई धुम्रपानबाट छुटकारा दिलाउन कठीन हुन्छ ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरुले १२ सय ४० जना मानिसमा परीक्षण गरेका थिए । त्यसक्रममा हरेक मानिसको रगतको जाँच गरि उनीहरुको रगतमा निकोटिन कति छिटो टुक्रिन्छ ? भन्ने कुरा जाँचेका थिए ।
त्यसका साथै मानिसहरुलाई भ्यारेनिक्लिन नामक औषधि समेत दिइएको थियो र परामर्श समेत दिइएको थियो । निकोटिन नभएको यो औषधिलाई चिकित्सकको सल्लाह मुताविक दिने गरिन्छ । चिकित्सकहरुले धुम्रपानको खतराबाट उम्किनका लागि डिप्रेसन तथा आत्महत्या लगायतका सम्भावित दुस्प्रभावलाई समेत सन्तुलित गर्ने गर्छन् ।

शोधकर्ताहरुका अनुसार जो मानिसको रगतमा निकोटिक टुक्रिने दर सामान्य हुन्छ उनीहरुमा भ्यारेनिक्लिन औषधिको प्रयोग गरेर धुम्रपानको लत छुटाउन सकिने सम्भावना वैकल्पिक निकोटिन युक्त औषधि दिनुपर्ने मानिसहरुमा भन्दा बढि हुन्छ ।
त्यसैले मानिसको रगतमा निकोटिन टुक्रिने दरको परीक्षण गरेर सोही अनुरुप धुम्रपान छुटाउने औषधि वा विधिको प्रयोग गरिएमा त्यो प्रभावकारी हुने र त्यसले धुम्रपानका अम्मलीलाई लत छुटाउनमा मिल्ने सफलताको दर बढ्ने शोधकर्ताहरु बताउँछन् ।

0 comments:

Post a Comment