Wednesday, January 7, 2015

प्रेमी छुटाउन शक्तिको दुरुपयोग गर्ने प्रयास विफल

२३ पुस, इटहरी । साँचो प्रेमका अगाडि भगवान पनि झुक्छन् भन्ने सुन्नमा पाइन्थ्यो । तर, सुनसरीको इटहरीमा यस्तै घटना देख्न पाइएको छ । साँचो प्रेमलाई छुटाउन गृहमन्त्रालयबाटै सोर्स फोर्स लगाइए पनि अन्ततः जीत प्रेमकै भयो ।


प्रेमी जोडी हिरासतमुक्त हुनुअघि कागज गराउँदै प्रहरी
विगत ३ वर्षदेखिको प्रेमलाई १० दिन अघिमात्रै काठमाडौंको मन्दिरमा गई विवाहमा परिणत गरेको एक जोडीलाई छुटाउन माथिल्लो निकायका शक्ति केन्द्रहरु विफल बनेका छन् ।
इटहरी-८ का २१ वर्षीय रोशन बुढाथोकी र फत्तेपुरकी २२ वर्षीया बिन्दु कटुवालबीच काठमाडौंको मन्दिरमा भएको प्रेम विवाह छुटाउन लागिपरेका केटी पक्षका नातेदार र प्रहरीहरु असफल भएका हुन् ।
केटी पक्षका नातेदारले प्रेमी जोडी छुटाउन गृहमन्त्रालयदेखि डीआइजीसम्मको फोर्स लगाएका थिए ।
ठूला हाकिमहरुको निर्देशन आएलगत्तै प्रहरीले दुबैलाई पक्राउ गरी तीन दिनसम्म हिरासतमा राखेको थियो । सोर्सफोर्सकै कारण जोडीले तीन रातसम्म चिसो हिरासतमा कोचिनुपर्‍यो ।
मन्दिरमा बिहे गरेर शनिबार काठमाण्डौबाट इटहरी आउनासाथ प्रहरीले केटी पक्षको उजुरीका आधारमा दुबैलाई पक्राउ गरी हिरासतमा राख्यो । विवाह तोड्न र जोडी छुटाउन युवती पक्षका नातेदारले केटालाई केटी बेच्ने दलालको आरोप लगाएर पक्डाएका थिए ।

तर, अनेकौं यातना दिए पनि युवतीले रोशनविना आफू एक पल पनि रहन नसक्ने अडान कायमै राखेपछि इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी बिनोदकुमार शर्माले ‘साँचो जोडी रैछ’ भन्दै प्रहरी कार्यालयभित्रै फूलमाला लगाइदिएर दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित बिदाइ गरिदिए ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार केटी पक्षका आफन्तले केटालाई केटी बेच्ने दलाल भन्दै कारवाही गराउन गृहमन्त्री वामदेव गौतमका पीएमार्फत् फोन गरेर दबाव दिएका थिए ।
मन्त्रीका पीएका साथै पूर्वाञ्चलका प्रहरी अधिकारीले पनि केटालाई कारवाही गर्न दबाव दिएका थिए । तर, गृहमन्त्रालयदेखि र प्रहरी हाकिमसम्मको दबाव आए पनि इटहरीका डीएसपी शर्माले साँचो प्रेमको पहिचान गरेपछि यो जोडीले न्याय पायो । नाताले सोल्टा-सोल्टीनी पर्ने उनीहरु विवाहका हिसाबले योग्य भएको प्रहरी स्रोतले बतायो ।
मानवअधिकारकर्मीको पहल
उमेर पुगेर राजीखुसी भएका प्रेमी जोडीलाई छुटाउन युवती पक्षका नातेदार लागि परेको थाहा पाएपछि इटहरी र सुनसरीका महिला अधिकारकर्मीहरुले चासो दिए । उनीहरुले मंगलवार साँझसम्म प्रहरी कार्यालयमा पुगेर र साँचो प्रेमको सम्मान गर्न दबाव दिएका थिए ।
युवती पक्षले निम्तो मानेन
नवदुलाहा र दुलहीलाई आशिर्वाद दिन प्रहरीले निम्तो गरेको दुबै पक्षका अभिभावकमध्ये युवती पक्षका अभिभावकहरु भने अनुपस्थित थिए ।
केटी पक्षका आफन्तहरु सहमतिमा आउन नमानेपछि प्रेमी जोडीलाई महिला अधिकारकर्मीहरुको रोहवरमा इलाका प्रहरी कार्यालय इटहरीले जिम्मा लगाएर बिदा गरेको छ ।

0 comments:

Post a Comment