Wednesday, January 7, 2015

भारतीय पासपोर्ट बनाउने गिरोह पूर्वमा सक्रिय,पासपोर्टको मूल्य ढेडलाख भारु

पूर्वी सहरहरुमा भारतीय पासपोर्ट बनाउने गिरोह सक्रिय भएको पाइएको छ। एक भारतीय पासपोर्ट बराबर त्यस्ता गिरोहले १ लाख ५० हजार भारतीय रुपैया असुल्ने गरेका छन्। गिरोहले यहाँबाट एकपटकमा ८ देखि १५ जनासम्मबाट रकमसहित कागजपत्र, जानकारीहरु लिएर जाने गरेका छन्। त्यस्ता गिरोहले विशेष गरी युवतीहरुको पासपोर्ट बनाउने गरेको स्रोत बताउँछ। स्रोतका अनुसार एडभान्सको रुपमा आधा पैसा बनाउनु पूर्व नै लिने गरेका छन्। एउटा भारतीय पासपोर्ट आइपुग्न करिव तीनमहिना लाग्ने स्रोत बताउँछ। त्यस्ता गिरोहरुले घरमै आई पैसा तथा सम्पूर्ण सूचनाहरु लिएर जाने र पासपोर्ट बन्नुपूर्व भारतीय कागजपत्रहरु मिलाउने गरेका छन्।

सम्पूर्ण कागजपत्र मिलिसकेपछि मात्रै सम्बन्धित व्यक्तिलाई वेष्ट बंगालको राजधानी कलकत्ता र दिल्लीमा बोलाएर अन्तरवार्ता लिएर मात्रै पासपोर्ट हात लगाउने गरेका छन्। अन्तरवार्तापछि झण्डै दुईदेखि तीनसाता पछि पासपोर्ट घरमै ल्याउने गरेका छन्। स्रोत भन्छ …त्यस्ता कागजपत्र मिलाइसकेपछि अन्तरवार्ताको लागि समय मिलाइएको हुदो रहेछ। अनी बोलाइन्छ। र, अन्तरवार्तापछि मात्रै पासपोर्ट बन्ने फिक्स हुदोरैछ।'
भारतीय पासपोर्टले …डोमेस्टिक काम' मा जान पाउने भएकाले पनि युवतिहरुले भारतीय पासपोर्टको प्रयोग गर्न थालेका हुन्। त्यस्ता पासपोर्टले हङकङ, इजरायलको डोमेस्टिक काममा जान सहज हुने गरेको छ। ती स्रोतका अनुसार बढी भन्दा बढी भारतीय नाँकासँग जोडिएका नेपालका जिल्लाहरुका गिरोह सक्रिय छन्।

यस अघि १ लाख भारतीय रुपैयामा बनाउने गरेको पासपोर्ट अहिले १ लाख ४० देखि ५० हजार भारतीय रुपैया बिना नबनाउने गरेको बताइन्छ। एकमहिनामै घरमा ल्याउनु परेमा झण्डै दोब्बर मूल्य लिने गरेका छन्। विशेष गरी भारतको आसाम, गुहाटी, बागडुग्रा, सिलगुढी तिरको ठेगानामा पासपोर्ट बन्ने गरेको छ।
त्यस्ता गिरोहहरुले पुलिस भेरिफिसकेशन कागजपत्र, काउन्सिल चेयरमेनमार्फत स्थानीयवासी प्रमाणपत्रमा हस्ताक्षरित कागजपत्र, भोटिङ परिचय पत्र, स्कुलको प्रमाण पत्र, रासन कार्ड, बैंकको एटिएम कार्ड नक्कली बनाउँदै पासपोर्ट निकाल्ने गरेका छन्। भारतीय नागरिकले पासपोर्ट लिनु परेमा मात्रै ५ हजार भारतीय रुपैयाँ लाग्छ।

सुनसरी प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भारतीय पासपोर्ट बनाउने बारे आफूले पहिलो पटक जानकारीमा आएको बताए। उनले दुई देशको नागरिकता लिन पाउने अधिकारै नभएको र कुनै तरिकाबाट पासपोर्ट प्राप्त गरेको छ भने नेपालको परित्याग गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था रहेको बताए। 'यो विषय बढी भारतको चासो हुनुपर्ला, कुनै तरिकाले दोहोरो लिएको छ भन्ने कानुनी रुपमा परित्याग हुनुपर्छ। अनुसन्धान भन्दा पनि सार्वजनिक भयो भने कानुनी रुपमा परित्याग गर्नुपर्छ', उनले फोनसम्पर्कमा भने।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर रानीका प्रमुख डिआइजी नवराज सिलवालले भारतीय पासपोर्ट बनाउने गिरोहहरु बारे जानकारी नभएको बताए। तर, त्यस्ता गिरोहहरु पाइएमा कडा कारबाहीको भागिदार हुने बताए। …हाम्रोमा नक्कली सर्टिफिकेट, नागरिकता बनाउने गिरोह पक्राउ परिरहेका छन्। तर, भारतीय पासपोर्ट बनाउने गिरोह बारे अहिलेसम्म त्यस्तो आधिकारिक जानकारीमा आएको छैन।' डिआइजी सिलवालले भने …त्यस्तो रहेछ भने प्रोसेस अघि बढाउँछौं।'
यसरी बनाउँछन्
ढेडलाख भारतीय रुपैया दिएपछि ती गिरोह सिधै पुलिस भेरिफिसकेशन कागजपत्र, काउन्सिल चेयरमेनमार्फत स्थानीयवासी प्रमाणपत्रमा हस्ताक्षर गरेका  कागजपत्र, भोटिङ परिचय पत्र, स्कुलको प्रमाण पत्र, रासन कार्ड, बैंकको एटिएम कार्ड बनाउन सक्रिय हुन्छन्। त्यो बनेको केही समयपछि नै सम्बन्धित व्यक्तिहरुलाई फोनमार्फत अन्तरर्वार्तामा आउनका लागि आग्रह गर्छन।  नाकामा छिर्नका लागि असहज हुने हुँदा एकैपटक नभई विभिन्न बहानामा भारत प्रवेश गराइन्छ।

कतिपयहरु बिरामी बहानामा त कोही औषधि किन्नलगायत सामान किन्ने बहानामा प्रवेश गर्छन्। त्यसको लागि पासपोर्ट बनाउनु पूर्व नै आधा पैसा असुलिन्छ। र, जाने, आउने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिकै हुन्छ।
त्यो प्रवेशपछि पासपोर्ट बनाउने ठेगाना अनुसार दिल्ली अर्थात् कलकत्ता गएर केही दिनको बसाईमा पासपोर्ट लिन जाँदा अपनाउनु पर्ने सावधानी र अन्तरवार्तामा सोधिने कुराहरु सिकाइन्छ। त्यसपछि सिधै अन्तरवार्ता दिइन्छ। पास भए/नभएको जानकारी नभए पनि गिरोहले सिधै घर वा फोनमार्फत् पासपोर्ट आएको जानकारी गराउँछन्। र, पछि विदेश उडन भारतकै बाटोबाट जाने गरेका छन्। 

0 comments:

Post a Comment