Tuesday, January 6, 2015

कुलुङको पीडा एकै घरमा चार अपाङ्ग, अपाङ्गको बिजोग

भोजेन्द्र बस्नेत, सोलुखुम्बु, २२ पुस । “चारोटा छोराछोरीलाई फाप्लु अस्पतालमा लगेको हजुर सात हजार ऋण पर्यो , अब त ब्याजसहित डबल भइसक्यो”– गुदेल–४ सोलुखुम्बुका पट्टबहादुर कुलुङले भने ।


उनका आठ छोराछोरीमध्ये चारजना अपाङ्गता भएका छन् । गरिबीले नराम्रोसँग पिरोलिरहेका कुलुङ भन्छन् “यिनीहरूलाई लाउन, खान दिन अफ्ठेरो परेको छ, कोही नातेदारले थाङ्नाथुङ्नी दिए, कसैले पैसा पनि दिए, सरम लाग्छ तर सरम लागेर पनि के गर्नु र उनीहरूको ज्यान त बचाउनै प¥यो ।”

आफ्ना अपाङ्गता भएका छोराछोरीको लाज ढाक्न र दुईछाक ख्वाउनकै लागि धौ—धौ पर्ने कुलुङले कुनै पनि छोराछोरीको उपचार गराएका छैनन् । पाँच वर्ष जति पहिले फाप्लुमा अपाङ्गता भएकाको उपचारका लागि शिविर बसेको बेलामा उपचार गराउनका लागि आउनजान सात दिन लाग्ने बाटोमा चारजना छोराछोरी बोकाएर पु¥याएकोे भए पनि त्यहाँ केही उपचार भएन । त्यहीँ बेला लागेको रु सात हजार ऋण अहिले दोब्बर भएको गुनासो कुलुङ बारम्बार दोहो¥याए ।

आफ्ना चार सबलाङ्ग छोराछोरीलाई नै पढाउन नसक्नुभएका कुलुङ भन्छन्–“अपाङ्गहरूलाई त कसरी स्कुल पठाउनु र घरमा पनि गोठालो लाग्न नसकेर कोही बेला घरभित्र थुनिराखेर काम गर्न हिँड्नुपर्छ, मेरो पुर्पुरो नै उस्तो ।” कुराकानीका क्रममा कुलुङले आँखाभरि आँसु पार्दै थाप्लोमा हात राखेर आफ्नै भाग्यलाई गाली गरे ।

गुदेल–१ सोलुखुम्बुकी धनकुमारी कुलुङको पीडा पनि पट्टबहादुरको भन्दा कम छैन । विवाह गर्ने उमेर भइसकेका दुई छोरीलाई कोक्रोमा बोकेर आफ्नै हातले खान ख्वाउँदै गरेकी कुलुङले भन्नुभयो–“एउटी २० र अर्की १८ वर्षकी भइसके, बच्चालाई जस्तै स्याहार गर्नुपर्छ, काम गर्न जानु कि उनीहरूको स्याहार गर्नु”–रुन्चै हाँसोमा ठट्टा गर्दै कुलुङले भन्नुभयो–“बिहे गरेर उनीहरूको बच्चा खेलाउने बेला भइसक्यो उनीहरूलाई नै खेलाउनु पर्छ ।” धनकुमारीलाई छोरीहरूका लागि खाना जुटाउन मुस्किल छ भन्छन् –“गरिब छौँ हजुर खोलेफाँडो खाएर बाँच्नुपर्ने यिनीहरू बजारको खाना मात्र खान्छन्” ।

अपाङ्गता भएकाको लगत राख्ने र उनीहरूलाई परिचयपत्र दिने कार्यालय महिला तथा बालबालिका कार्यालय सल्लेरीका अनुसार सोलुखुम्बुको बुङ, छेस्काम र सोताङगरी तीनवटा गाविसमा मात्र १०२ जना अपाङ्गता भएका छन् । जिल्लाको गुदेल गाविसमा ४४ अपाङ्गता छन् । छेस्काम गाविसमा २७ र बुङ गाविसमा ३१ जना अपाङगता भएका छन् ।

भौगोलिक विकटता, आर्थिक अभावजस्ता समस्याले सताइरहेको सोलुखुम्बुको कोसीपारिका तीन गाविस बुङ, छेस्काम र गुदेलमा अपाङ्गताको समस्या निकै जटिल छ । शिक्षा तथा विभिन्न तालिमको पहुँच त हैन खान लगाउन पनि निकै असहज छ । यस्ता विकटता र दुर्गमका अपाङ्गतालाई खान, बस्न तथा शिक्षा र तालिमको जिम्मेवारी राज्यले लिनुपर्ने जिल्ला अपाङ्गता समन्वय समिति सोलुखुम्बुका अध्यक्ष नर्बदा गिरी बताउछन् । रासस

0 comments:

Post a Comment