Saturday, July 4, 2015

जापानले बीपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण

सिन्धुली, असार १८ - बीपी राजमार्ग जापानले शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गर्दैछ । कुल १६० किलोमिटर उक्त राजमार्गमा अहिले पूर्वी तराईदेखि सिन्धुली हुँदै रामेछाप मन्थली तथा राजधानीसम्मका लागि दैनिक सञ्चालन भइरहेका छन् ।

यो काठमाडौं–पूर्वी तराई जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको छ । उक्त राजमार्ग ०५२ सालमा निर्माण थालिएको थियो ।
यसले जिल्लाका जलकन्या, भद्रकाली, रतनचुरा, तीनकन्यालगायत गाविसमा पनि सडक निर्माणका लागि ट्रयाक खोलिएको छ । अब यस क्षेत्रका कृषकको बजारसित राम्रो पहुँच पुगेको तीनकन्याका कर्णबहादुर ठाडाले जनाए । राजमार्गको दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमि चार वर्षअघि बनिसकेको थियो । खुर्कोट–नेपालथोक तेस्रो खण्डअन्तर्गत ३७ किलोमिटर भर्खरै सकिएको हो ।
यसअघि पहिलो खण्ड बर्दिवास, सिन्धुली तथा चौथोखण्ड–नेपालथोक–धुलिखेल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ । नेपाल, जापान मित्रताको चिनोस्वरूप अनुदान सहयोगमा २० वर्षअघि निर्माण सुरु भएको थियो । जिल्लाकै पिछडिएको क्षेत्रका रूपमा रहेका भद्रकाली, जलकन्या, रतनचुरा, भीमेश्वर, भुवनेश्वरी, तीनकन्या, शीतलपाटी, पुरानो झाँगाझोली, झाँगाझोली, रातमाटा, दुम्जालगायत दर्जनभन्दा बढी गाविसका विपन्न किसान राजमार्ग बनेपछि उत्पादित फसल सजिलै बजार पुर्‍याउन सकेका छन् ।
सडक निर्माणले सिन्धुलीबाट राजधानीसम्म सवारी सञ्चालनले दुर्गम गाविसका विपन्न कृषकद्वारा उत्पादित तरकारी तथा फलफूल बिक्रीका लागि बजारसम्म लैजान सजिलो भएको उनीहरू बताउँछन् । राजमार्ग बन्नुअघि आयआर्जनको कुनै स्रोत नभएका राजमार्ग आसपासका विपन्न कृषकहरू यतिखेर व्यावसायिक रूपमा गाई, भैंसीपालन गरी दूध, दही, तथा घिउ, मौसमी तथा बेमौसमी तरकारी खेती, फलफूल तथा बाँस निगालोका सामान उत्पादनमा सक्रिय भएको रतनचुराका हरि गजुरेल बताउँछन् ।
पहिला–पहिला गाउँघरमा उत्पादन हुने हजारौं मेट्रिक टन जुनार, सुन्तला, दूध तथा ताजा तरकारी र फलफूल बिक्री गर्न नसकिने हुँदा कृषकको लाखौं कुहिएर माटोमा मिल्ने गरेको तीतो अनुभव जलकन्याका कृषक खिलराज देवकोटाको छ । भरियालाई बोकाएर लैजाँदा ज्याला दिँदा नै ठिक्क हुन्थ्यो, उनले भने, ‘आफ्नो श्रम पसिना नआउने भएपछि कृषकले मलको भकारामा मिल्काउनुको विकल्प थिएन ।’
जलकन्याका कृषक सूर्य धिताल अहिले गाउँमै बाटो बनेपछि सयभन्दा बढी कृषकले दूध संकलन गरी रतनचुरामा स्थापना गरिएको महाभारत दुग्ध सहकारी संस्थामा बिक्री गरी लाभ उठाएको बताउँछन् । अहिले राजमार्गको निर्माणपछि गाउँको दूध, घिउ र दही सदरमुकामसम्म पुर्‍याएर बिक्री गर्ने गरेका छौं, धितालले भने, ‘गाउँमै दुग्ध संकलन समूहको गठन गरी दैनिक गर्छौं, तरकारी, जुनार, सुन्तला, नास्पाती, आलु, टमाटरलगायत सहज रूपमा नै सदरमुकामलगायत राजधानी र तराईका जिल्लामा पुर्‍याएर बिक्री गर्ने गरेका छौं ।’ दैनिक उपभोग्य नुन, तेल तथा मरमसलाका लागि पनि एक–दुई दिन लगाएर सदरमुकाम सिन्धुलीमाढी धाउनुपर्ने बाध्यता अब हटेको छ ।

0 comments:

Post a Comment