Tuesday, July 14, 2015

इजरायलवासी नेपालीहरूलाई झटारो -शुभद्रा भण्डारी

शुभद्रा भण्डारी, हाल इजरायल -नेपालीहरूको चटारोले हिजोआज फुर्सद छैन इजरायललाई पनि मान्छेको दिमाग भन्ने चिज पनि कस्तो हुँदोरहेछ, सेकेन्डमै कहाँ पुग्न सक्छ भने सेकेन्डमै के-के सोच्न सक्नेरहेछ । यो प्रवासी वसाई अनी विविध कार्य-व्यस्तताको वावजुद पनि मेरो मानसपटलमा छताछुल्ल पोखिएका इजरायलवासी नेपालीहरूको चटारोलाई देखेर झटारो हान्न मन लाग्यो । हिजो आज निकै व्यस्ततामा छन् इजरायलवासी नेपालीहरू, यसो भन्दा पराय मुलुकको कामको चपेटामा परेर व्यस्त भए होलान् भन्ने वुझिन्छ तर झन्झटिलो कामको वावजुद पनि अन्य गतिविधीहरूमा निकै व्यस्त देखिन्छन् वैदेशिक रोजगारीमा रहेका इजरायलवासी नेपालीहरू । यतीवेला विष्वभरी छरिएर रहेका नेपालीहरूमाँझ चलेको एनआऱएन चहलपहलले नेपालमा हुने गरेका निर्वाचनहरूको स्मरण दिलाईरहेको छ ।


प्रवासमा रहेका नेपालीहरूलाई मिलेको यो अवसर पनि गजवकै हुनेरहेछ । देखासेखीले गरीखा आरिसेले मरिजा भन्ने उखानजस्तै एनआरएनको चुनावी सरगमले इजरायललाई पनि निकै तताएको छ । केही समयअघिसम्म भुसुक्क निदाएको एन आर एन इजरायल अहिले जुरूक्क उठेको मात्र होईन दौड प्रतियोगितामै सहभागी भएको छ । विगतका वर्षहरूमा झै टिके प्रथाले स्थान नपाएर प्रतिष्प्रर्धा मैदानमा उत्रिनुको मज्जा नै वेग्लै देखिएको छ इजरायलमा । समाजसेवा गर्छु र एन आर एन इजरायलको मुहारमा खुसी ल्याउछु भन्ने प्रतिज्ञा गरेर चुनावी मैदानमा उत्रिनेहरूको नाम प्यानल अनी पक्ष -विपक्षको हल्लाहरू पनि वजारमा विज्ञापन भईसकेका छन् । १० वर्षमा नेपाललाई स्विजरल्यान्ड वनाउने, धनि गरिवविचको खाडल टम्म हुनेगरी पुर्ने अनी शिक्षा स्वास्थ्य र स्वरोजगार सम्पुर्ण नागरिकको अधिकार भन्ने झुटो आश्वसन दिने नेताहरूवाट आजित भईसकेका र वाउन्न ठक्कर त्रिपन्न हण्डर खादै प्रवासी जीवन विताईरहेका नेपालीहरूले चिल्ला कुरा गर्ने र फस्ल्याङफुस्लुङ पार्दै आफ्नो पक्षमा मत पार्न वुनिएको जाललाई राम्रैसंग वुझिसकेका छन् र जाल हान्ने माझीले पनि अलिकति जाल च्यातियो भने माछा फेरी पानीमै पौडिन पुग्छ र मेहनत खेर जान्छ भन्ने कुरा राम्रैसंग वुझेको हुनुपर्छ । दुई-दुई वर्षमा फेरवदल हुने एनआरएनको पदिय दायित्व परिवर्तनको लागि यसपटक इजरायलवासी नेपालीहरूमाँझ निकै उत्साह लिएर आएको जोशले इजरायलवासी नेपालीहरूमाँझ भविष्यमा केही परिवर्तन लिएर आउने हो कि भन्ने झिनो आशा पनि पलाएको छ भने नेपालमा चुनाव लाग्दा नेताहरूले जनतालाई चिल्ला मिठा कुरा गर्दै भोट असुलेजस्तै चुनाव जितेपछि आफ्नै मतदाताहरूलाई नचिन्ने हुन् कि भन्ने शंकालु संवादहरू पनि इजरायलका गाँउ वस्तिहरूमा निकै सुनिन्छन् ।

नेपालमा एनटिसीको नेटवर्क पाउनै गार्हो भएजस्तै इजरायलवासी नेपालीहरूको मोवाईलमा झ्वाट्ट कल लाग्न निकै मुस्किल पर्छ हिजोआज । कियरगिभिङको काम, खानुछैन माम, कमाउनुछ दाम, फुर्सद भयो की इन्टरनेट र टेलिफोनमा नै हुन्छन् जाम अनी टेलिफोन र इन्टरनेट अन भयो की प्रंसग आईहाल्छ एनआरएन चुनावको ।एन आऱ एन इजरायलको नेतृत्व सही व्यक्तिहरूको हातमा परोस् भन्ने चाहनाले यति वेला इजरायलवासी नेपालीहरूलाई पनि थप चटारो परेको छ । हुन त इजरायलवासी नेपालीहरू इतिहासमै कहिल्यै चुप लागेर वसेनन् । सहयोगी भावना, आपसी सद्भाव र एकता नभएको पनि होईन इजरायलवासी नेपालीहरूमा । चाहे वाढीपहिरोले ल्याएको विपत होस्, चाहे आगलागिवाट नष्ट भएको सपना किन नहोस् या अन्य विविध कारणहरूवाट आईपरेको दुखमा इजरायलवासी नेपालीहरू एक भएर सहयोग गर्छन् र पिडितहरूको आँसु पुछ्छन् ।

२०७२ वैशाख १२ गते नेपाल र नेपालीको इतिहासमा काल वनेर आएको आम विनासकारी भुकम्पको पिडामा विक्षिप्त वनेका इजरायलवासी नेपालीहरूले पिडितहरूको घाउमा मल्हमपट्टी लगाउने फराकिलो मनसंगै एकताको लागि कुनै कसर वाँकी राखेनन्, अन्तत : भुकम्प पिडित सहयोग अभियान इजरायलको नामवाट करिव एक करोडको हाराहारीमा सहयोग रकम संकलन भयो । आपतकालित राहत लिएर १५ जिल्लामा पुगिसकेको अभियान पुनर्निर्माणको लागि फेरी अति प्रभावित ७ जिल्लाका विद्यालयहरूमा जाने तयारीमा रहेको छ । यतिवेला अभियानको नाममा उठेको रकम पारदर्शी ढंगवाट वितरण गरी आम जनसमुदायमाँझ ल्याउने अभ्यासमा जुटेका छन् अभियन्ताहरू । पिडितहरूको नाममा सहयोगी दाताहरूको मन जितेर अभियानमार्फत उठाईएको रकमको सहि सदुपयोग भयो कि भएन भन्ने कुराको लागि इजरायलवासी नेपालीहरूले अझै केही दिन धैर्य गर्नुपर्ने देखिएको छ ।

करिव चार पाँच हजार मात्र नेपालीहरू रहेको इजरायलमा च्याउ उम्रे झै उम्रिएका झण्डै ४० वटा सामाजिक संघसंस्थाहरू जिवितै रहेका छन् । हास्यस्पद कुरा त के छ भने अरूको संस्थामा जुम्रो हिडेको नियाल्ने इजरायलका समाजसेवीहरू आफनै संस्थाभित्र भैसीले उदेरी खेलिसकेको पनि पत्तै पाउदैनन् । उही अनुहार, उही प्रवृति उही मानसिकता अनी उही सोच, आखिर संस्थाको नाम परिवर्तन गर्दैमा उपलव्धिको के आशा र भरोसा राख्न सकिन्थ्यो र ? होईन भने किन र के का लागि जन्मियो इजरायलमा करिव ४० वटा सामाजिक संघसंस्थाहरू ? एक संस्थामा विवाद भयो भने रातारात नयाँ संस्था जन्मिन्छन् यहाँ । पदिय लालचमा आशन ग्रहणकै लागि भएपनि संस्था खोल्ने हतारोमा चटारो देखेर वेलावेलामा झटारो नहानेको पनि होईन तर झटारो वुझ्नेलाई श्रीखण्ड र नवुझ्नेलाई खुर्पाको विंड जस्तै भईदिएपछि कसको स्वतन्त्रतामाथि कसले हस्तक्षेप गर्न सक्थ्यो र ? न्याय अन्यायको समयमा चांही काग कराउदै गर्छ पिना सुक्दैछ भने झै मुकदर्शक वन्दै कानमा तेल हालेर वस्नेहरूको अनुहार पनि नपढेका छैनन् इजरायलवासी नेपालीहरूले । यी आँखाहरूले तानातान हानाहान जानाजान नै हुनेगरेका दृष्यहरू पनि वेलावखत नदेखेका होईनन् । नेपाली पर्वहरूलाई हतियार वनाउदै व्यापारीकरण तवरले कार्यक्रम जुधाउने होडवाडी कुनै अनौठो परम्परा होईन इजरायलवासी नेपालीहरूमा । जति नै अनुरोध गरिएपनि एकै प्रकृतीका कार्यक्रमहरू समेत एकै मंचमा हुन नसकेका प्रसस्तै उदाहरणहरू छन् । यही जुलाई १७ मा पनि दुईतिर कार्यक्रम हुने पक्का भईसकेको खवरहरू वजारमा छाईसकेका छन् भने १८ शनिवारको दिनमा एकातिर एन आर एन इजरायलको चुनाव हुदैछ भने अर्कोतिक भ्रमण गराउने होडवाजी पनि देखिएको छ उता भानुजयन्ति मनाउने कार्यक्रमको पनि ३,४ महिना अगावै सूचना आईसकेको थियो ।

इजरायलवासी नेपालीहरूका लागि कार्यक्रम तर्जुमाको होडवाजी नौलो विषय होईन । भ्रमणको विषय होस् या अन्य कार्यक्रमको अग्रिम सुचना निकाल्ने विषयमा पनि निकै प्रतिष्पर्धा हुने गरेको देखिन्छ । सोसाईटी अफ हेल्पिङ हट्स इन इजरायलको आयोजना तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहआयोजनामा जुलाई १८ तारिख साँझ देश विपतीमा डुवेको वेला इजरायलदेखि नेपालसम्म पुगेर नेपालीहरूको उद्दार तथा उपचारमा खटिएका I.D.F ( Israel Defense Forces / इजरायली शुरक्षा सेना ) हरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । राष्ट्र विपतमा डुव्दै अन्तराष्ट्रिय सहयोगको अपेक्षा सहित पिडामा चिच्याईरहदा नेपाल र नेपालीसंगको भावनात्मक नाता प्रगाढ वनाउदै सहयोगको लागि नेपाली भूमीमा पुगेर उद्दार, उपचार तथा विभिन्न सहयोगमा खटिएका विदेशी नागरिकहरूलाई धन्यवाद स्वरूप सम्मान गर्नु राष्ट्रकै गौरवको कुरा हो, जुन इजरायलवासी नेपालीहरूको इतिहासमा अनन्त: रहिरहनेछ । समाजसेवीको संज्ञा दिदै ढोल फुक्नेहरू अनी सामाजिक संजालमा देशप्रेमको भावना दर्साउदै स्ट्याटस र कमेन्टमा निकै घुक्नेहरूको अनुहार इतिहासकै उदाहरणिय कार्यक्रममा कत्तिको देखिन्छन् त्यसको चित्रण यी आँखाहरूले आगामी साता मात्र गर्न पाउनेछन् । नेपलिज इन इजरायल भन्ने फेसवुक ग्रुप इजरायलमा निकै चर्चित छ । केही घटना घट्यो या कसैसंग केही दुष्मनी वढ्यो ? व्यक्तिगतदेखी सामाजिक संघसंस्थाका कृयाक्लापहरू, सुचनाहरू, साथै आ-आफ्ना तर्कवितर्कहरू सवै त्यही ग्रुपमा पोखिन्छन् । कहिलेकाही भावना पोख्ने क्रममा पोष्ट गरिएका विषयवस्तुहरू निकै विवादमा समेत तानिन्छन् । सार्वजनिक वालवाटै कस-कसको को-को संग मित्रता झाँगिएको छ र को संग मत मिलिरहेको छैन भन्ने प्रष्ट वुझ्न सकिन्छ । कहिले एन आर एन इजरायलकै प्रंसगमा त कहिले नारी आवाज इन इजरायलको । कहिले धार्मिक विषयमा त कहिले मार्मिक विषयमा । कहिले उषा ओलीको त कहिले संगिता ओलीको प्रंसगमा । इजरायलवासी नेपालीहरू केही खुराक भयो की त्यही चौतारीमा झुल्किदै पोख्ने गर्छन् । सोही ग्रुपवाट निकै चर्चा कमाएको पछिल्लो विषय हो अवैधानिक नेपाली कामदारलाई सुराकी लगाएर पक्राएको भन्ने आरोपको विषय जसले इजरायलमा रहेका नेपालीहरूविच भुईचालो नै ल्याईदियो ।

इजरायलमा रहेका सामाजिक संघसंस्थाहरूले कहिलेकाही अदालतकै रूपमा पनि खडा हुने अवसर प्राप्त गर्छन् । आपसी लेनदेनदेखी सम्वन्धविच्छेद सम्मका विषयहरू समेत कहिलेकाही विवादित वन्दै न्यायको लागि सामाजिक संघसंस्थाहरूसमक्ष आउने गर्छन् र सहमतीमा मेलमिलाप पनि हुने गर्दछ । कहिलेकाही नेपाली-नेपालीविच भकुराभकुर परेको खवरहरू समेत छरिन्छन् वजारमा अनी न्यायाको लागि नेपाली राजदूतावास र सामाजिक संघसंस्थाहरू गुहार्ने गरेका घटनाहरू समेत सामाजिक संजालतिर फैलिएका हुन्छन् । सहमती र सहकार्य रातारात फेरिदारहेछन् भन्ने उदाहरणहरू पनि अनौठो छैन इजरायलमा रहेका नेपालीहरूविच । एउटै व्यक्तिको हिजो र आजको फरक भाषा पढ्नै गार्हो हुने गर्दछ कहिलेकाही, त्यसो त आए आँप गए झटारो भनेझै खाली समयको सदुपयोग तर सहि निर्णयको दुरूपयोगमा वाजी मार्नेहरू गाँउशहरभरी फिजिईसकेका छन् भन्ने हल्लाहरू पनि नभएका होईनन् । यो साता कोही भुकम्प पिडित सहयोग अभियान इजरायलको आर्थिक संकलन टुङ्ग्याउने हतारमा छन् भने कोही यही शुक्रवार हुने विविध कार्यक्रमहरूको तयारीमा । कसैलाई शनिवार हुने एनआर एन इजरायलको चुनावी चटारो छ भने कसैलाई शनिवार नै तय गरिएको भ्रमणहरू सफल गराउने हतारो । उता शनिवार आयोजना गरिएको I.D.F सम्मान कार्यक्रमको तयारीमा जुट्नेहरू त्यत्तिकै व्यस्त देखिन्छन् ।

0 comments:

Post a Comment