Saturday, July 4, 2015

काठमाडौमा गुन्डालाई गोली हानियो

काठमाडौ, असार १९ - नेपाल प्रहरीले सुन्धारास्थित बेबिलोन डिस्कोमा एक फरार कैदीलाई गोली हानेको छ । गएराति बिहान १ बजेर ४५ मिनेटमा महानगरीय प्रहरी अपराध महाशाखाबाट गएको प्रहरी टोलीले सन्की भनिने रावणजीत तामाङलाई गोली हानेको हो ।


तामाङ लागु औषध ओसारपसार तथा अपहरण कान्डमा सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्ष कैद तोकेको फरार अपराधी हुन् । भूकम्पले जिल्ला कारागार ध्वस्त भएपछि तामाङसहित त्यहाँबाट २ सय १६ कैदी भागेका थिए ।

उनलाई घुडा र घुडामुनि ३ वटा गोली हानिएको छ । तामाङले २०६८ साल असारमा आफूलाई पक्राउ आउने एक सइलाई मराणासन्न हुनेगरि पिटेका थिए । उनी उपत्यका हप्ते उठाउने कार्यमा समेत संलग्न रहेको प्रहरीको भनाइ छ । तामाङसँगै भक्तपुरका उमेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालका अनुसार प्रहरी तामाङ राति डिस्कोमा छ भन्ने जानकारी पाएपछि पक्राउ गर्न सुन्धारा पुगेको थियो । प्रहरी आएको थाहा पाउने वित्तिकै तामाङसहित उसको समूह भागेको थियो । भाग्ने क्रममा तामाङ समूहले प्रहरीलाई हातपात गरेपछि प्रहरीले गोली हानेको थियो ।

तामाङको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

केही समयदेखि गुन्डाहरुलाई पक्राउ गर्ने अभियान अन्‍तर्गत अपराध महाशाखाको टोलीले उनीहरुलाई विशेष निगरानी गर्दै नियन्त्रणमा लिँदै आएको छ । 'हामीले पक्राउ गर्न खोज्दा हामीमाथि नै हातपात गरि भाग्न खोजेकोले बाध्य भएर गोली चलाउन परेको हो,' महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक खनालले भने ।

0 comments:

Post a Comment