Sunday, July 5, 2015

सामाजिक सञ्जालले टुटाउँदैछन् दाम्पत्य सम्बन्ध

काठमाडौं, असार १९ - महानगरको मध्य सहरी इलाकामा घर, श्रीमान सरकारी स्वामित्वको कम्पनीमा जागिरे त, श्रीमती नाम चलेको स्कुलमा शिक्षिका । दसवर्षे छोरा र माया गर्ने सासूससुरा भएको नैना श्रेष्ठ (नाम परिवर्तन) को जीवन हाँसीखुशी थियो । ससाना व्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा साथीसँग सेयर गर्ने बानीका कारण सम्बन्ध विच्छेद गर्ने अवस्था बन्यो । उनको विवाद थाहा पाएका वकिलका अनुसार नैनाको ससाना व्यक्तिगत कुरा पनि अमेरिका बस्ने सहपाठी साथीलाई फेसबुकको इन्बक्समा भन्थिन् । फेरी साथीलाई भनें भनेर श्रीमानलाई सुनाउँथिन । यस्तो क्रम चल्दै जाँदा श्रीमानको मनमा श्रीमतीका लागि आफूभन्दा साथी नजिक भएको महसुस हुन थाल्यो । उनको असन्तुष्टी प्रकट हुन थाल्यो । श्रीमान(श्रीमतीबीच विवाद बढ्न थालेपछि नैनाले पासपोर्ट बनाउन खोजिन्, श्रीमान थप संशकित भए । सम्बन्ध विच्छेद भए थोरै सम्पत्ति दिएर काम चलाउने उद्देश्यले श्रीमानले बावुआमासँग अंश लिइसकेको भर्पाईको कागज बनाए । यसपछि नैनाले पनि विश्वास गर्न सक्ने अवस्था नरहेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा हालिन । पाँच महिनाअघि दुवै अलग भए ।


फेसबुकमा साथीलाई कुरा सेयर गरेको इस्यु नभएको भए जोडी जिन्दगीभर नटुटने पर्याप्त आधार थिए,’ उक्त मुद्दा हेरेकी वकिल विन्दु खडाले भनिन । खडाका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सीताराम खनालले यस्तो परिवारलाई त छुट्टिन दिनुहुदैन भन्दै आफ्नै पहलमा मिलापत्रमा गराउने प्रयास गरेका थिए । सामान्यतया सम्बन्ध विच्छेद गर्न लागेका दुई पक्षबीच अदालतमै झगडा, बाजाबाज हुन्छ, सहजरुपमा लिएर कुराकानी भएको देख्न पाइन्न । तर यो मुद्दामा नैनाले अदालतमा पनि सासुससुरालाई ढोग्ने अदब छाडेकी थिइनन । अहिले पनि छोराको खुशीका लागि दुवै एकसाथ सिनेमा हेर्न जान्छन् । मनमैंजुकी रिना (नाम परिवर्तन) लाई आठ र साढे ४ बर्षीया छोरीलाई छाडेर फेसबुकमार्फत प्रेमसम्बन्ध भएको युवकसँग विवाह गरिन् । उनका एक नातेदारका अनुसार निजी संस्थामा श्रीमानको जागिर थियो, फार्मेसी पढेकी श्रीमतीका लागि औषधि पसल खोलिदिएका थिए । फेसबुक अकाउण्ट नखोलुञ्जेल सब ठिकठाक थियो । रिनाले फेसबुकमा सक्रिय भएपछि अफगानिस्तानमा कार्यरत अविवाहित युवकसँग प्रेम भयो । कुरा सेयर गरेकी बहिनीले बुवाआमालाई कुरा लगाइदिएको थाहा पाएपछि ६ महिनाअघि गायब भइन् । ‘दुवैजना काठमाडौंमै बसिरहेको हालै उनले बहिनीलाई खबर गरेपछि थाहा भयो’ ति नातेदारले सुनाए । टवटरमा सक्रिय विनम्रता क्षेत्री (नाम परिवर्तन) लाई टवटरमा एक युवकले वर्ष दिनभन्दा बढी अघिदेखि फलो त गरिरहेकै थिए, उनका सबैजसो पोष्टलाई फेवरेट र रिट्विट गर्थे । श्रीमानको विवाहेत्तर सम्बन्धबारे जानकार विनम्रतालाई अनवरत प्रशंसा गरिरहेका युवकप्रति कौतुहलता जगाउन स्वभाविक थियो । केहीअघि दुवैले भेटघाट गरे । भेटघाटपछि विनम्रता युवकको मायामा परिन । तर आफ्नो पारिवारिक जीवन तोड्न तयार नभएकी उनी अहिले परामर्श केन्द्रमा धाइरहेकी छिन् ।

काठमाडौंमा उच्च वर्गका केहीमा विवाहेत्तर सम्बन्ध स्वीकार्य भएको धेरै भयो । श्रीमान र श्रीमतीको विवाहेत्तर सम्बन्ध हुने, दुवैलाई थाहा हुने तैपनि सम्बन्ध विच्छेद नगरी एउटै छतमा बस्ने पनि नौलो कुरा थिएन, खास वर्गको कतिपय परिवारमा । तर सामाजिक सञ्जालका कारण मध्यमवर्गमा पनि यस्तो प्रवृत्ति स्वीकार्य नहुने देखिदै छ । ‘सामाजिक सञ्जालले दाम्पत्य जीवनमा ठूलै भूकम्प ल्याउन थालिसक्यो,’ मनोविद करुणा कुँवर भन्छिन्, ‘यस्ता कुरा सुन्दा सुन्दा कहिलेकाही त यसको फाइदा बढी हो कि बेफाइदा भनेर सोच्छु ।’ सामाजिक सञ्जालमार्फत नजिकिएकासँग प्रेम भएपनि वैवाहिक जीवन तोड्न नचाहने थुप्रैलाई उनले परामर्श दिइरहेकी छन् । उनका अनुसार सामाजिक सञ्जालका कारण श्रीमान वा श्रीमतीको अरुसँग प्रेम भई वैवाहिक सम्बन्ध टुट्ने कुरा त छँदैछ, परिवारलाई समय नदिएका कारण पनि परिवारमा कलह जन्माएको छ । दिनभरि परिवारबाट अलग भई घर फर्किएपछिको समय परिवारका लागि बहुमूल्य हुन्छ । तर घर पुग्नासाथ मोबाइलमा फेसबुक आदि चलाउन थाले स्वत: परिवारसँग दूरी बढ्छ, विपरीत लिङ्गीसँग च्याट नगरे पनि । यस्तै फेसबुकमा अरुका श्रीमानले परिवारसहित बाहिर घुम्न गएको तस्वीर देख्दा पनि त्यसरी घुम्न नपाएकी श्रीमतीको श्रीमानसँग असन्तुष्टी बढेको उनले पाएकी छन् ।

सामाजिक सञ्जालमा सामान्यत: 
हाँसेकै फोटो पोष्ट गरिन्छ । तर त्यो हेर्ने कसैलाई अरु सबै खुशी छन मचाहि छैन भन्ने लाग्न सक्छ । ‘त्यो हाँसो एउटा क्लिकका लागि हो भन्ने देख्नेले बुझदैनन,’ उनले भनिन । सामाजिक सञ्जालबाट विकसित सम्बन्धका कारण दाम्पत्य जिवन टुटेका घटना सात समुद्रपारका नेपालीमा पनि छ । बेल्जियममा स्थापित व्यवसायीको तीन दिनअघि मात्र उतै सम्बन्ध विच्छेद भयो । दुई छोराका ४३ बर्षे पिता उनी पोखराकी २३ बर्षे युवतीसँग फेसबुकमार्फत नजिकिएका थिए । महिनैपिच्छे नेपाल आउन थालेपछि श्रीमतीले सोधीखोजी गर्दा उनको गोप्यता खुलेको थियो । पढाताका एकअर्काप्रति आकर्षित भएपनि विवाह नभएकाले फेसबुकमार्फत सम्पर्क भई पुरानो सम्बन्धलाई ब्युँताएका पनि छन् । रसियामा बस्दा काठमाडौंमा रहेकी नर्स विवाह गरेका रोशन (नाम परिवर्तन) ले श्रीमतीलाई रसियामा डाक्टर पढाए । फेसबुकमार्फत सम्बन्ध विच्छेद भई एकल रहेका पुराना प्रेमीसग उनको सम्बन्ध भयो । एक छोरा एक छोरीकी आमा विवाह गरेर बेलायत लागे । धेरै पहिला एकअर्काप्रति आकर्षित भएकाहरु सामाजिक सञ्जालमार्फत नजिक हुदा नोष्टाल्जिक भएर नजिक आउने गरेको कुवर बताउँछिन ।

विवाहलाई एकदम ठोस र अभेद्य मानिने समाजमा सामाजिक सञ्जालले भेद्य बनाइदिएको विश्लेषक सञ्जिव पोखरेल टिप्पणी गर्छन । कुनै समयमा बुहारी एक्लै बाहिर निस्किन पाउथेनन् । विस्तारै निस्किन पाए, सञ्चार माध्यमको विकासले केही भेद्य बनाइदियो । परिचित युवतीसँग कुरा गर्न परे पनि अरुले फोन रिसिव गरे यत्तिकै राख्नपथ्र्यो । मोबाइल सुलभ भएपछि यस्तो अवस्था सहज भए पनि परिचितमाझ मात्र सम्पर्क भलाकुसारीको सम्भावना हुन्थ्यो । तर सामाजिक सञ्जाल यस्तो माध्यम भयो, जहा संसारको जुनसुकै दुई कुनामा भएका अपरिचितबीच पनि सम्पर्क सहज हुन्छ । च्याटमार्फत कुराकानी हुन्छ । सबै सुविधा मोबाइलमा आएपछि झन सजिलो भएको छ । तर दाम्पत्य जिवन टुटेर अर्को सुरु हुनुमा दोष सामाजिक सञ्जालको नभई वैवाहिक जीवनमा खोज्नुपर्ने उनको धारणा छ । ‘कुनै युवक र युवतीसँग सम्पर्क भएपछि तोडिने दाम्पत्य जीवनमै कमजोरी थियो किन नभन्ने,’ उनी भन्छन् । उनका अनुसार पश्चिमाले वैवाहिक सम्बन्ध जोडिनु र तोडिनुलाई सामान्य रुपमा लिन्छन् । पूर्वीयाले असामान्य रुपमा लिदा सम्बन्ध कमजोर भएपनि सहन सिकायो । यसका कारण खासगरी महिला बढी उत्पीडित भए । पुरुषसँग आर्थिक निर्भरताका कारण पनि महिलाले साहसी निर्णय लिन नसक्ने भए । ‘ति सबै अवस्था नरहेपछि पहिलाकै जस्तो असामान्य रहिरहन सक्तैन,’ उनी थप्छन् ।

विवाहअघिे प्रेम सम्बन्ध राख्दा सामाजिक सञ्जालको प्रयोगमा होस नपुर्‍याएका कारण पनि कतिपयको पारिवारिक जीवन धरापमा पर्ने गरेको छ । महानगरीय अपराध महाशाखामा साइबर अपराध हेर्ने प्रहरी निरीक्षक पशुपती रायका अनुसार प्रेम सम्बन्ध भएका बेला निजी खालका तस्वीर पनि आदानप्रदान गर्ने प्रवृत्ति १८(२५ वर्ष उमेरका युवायुवतीमा छ । ‘सम्बन्ध सुमधुर हुन्जेल त कुनै समस्या हुदैन’, उनले थपे, ‘जब बिग्रिन्छ अर्कोले सार्वजनिक गर्ने वा ब्ल्याकमेल गर्न थाल्छन् ।’ यसमा पीडित हुने युवती बढी छन् । वैदेशिक रोजगारीमा जानेका परिवारिक समस्या आउने कुरालाई सामाजिक सञ्जालले थप मलजल गरिदिएको छ । केही दिनअघि वैदेशिक रोजगारमा गएका रुपन्देहीका युवकका पत्नी अविवाहित युवकसँग फेसबुकमार्फत नजिकिइन । शारीरिक सम्बन्धसम्म पुग्यो । युवकले विवाह गर्न खोज्दा महिलाले वैवाहिक सम्बन्ध तोड्न अस्वीकार गरेपछि युवकले श्रीमानलाई उसकी श्रीमतीसग शारीरिक सम्बन्ध भएको कुरा पठाएर यातना दिन थालेपछि प्रहरीमा उजुरी परेको थियो । बक्स फेसबुकको सम्बन्ध छिपछिपे चैतण्य मिश्र, समाजशास्त्री हामीले जहिले पनि प्रविधीले समाजमा के परिवर्तन गर्‍यो भनेर खोज्छौं, प्रविधिले समाजमा यस्तो परिवर्तन/प्रभाव पार्‍यो भनेर भन्छौ/लेख्छौं । अब यसलाई उल्टाएर सोचौं । प्रविधि त समाजले विकास गरेको हो, आवश्यकता ठानेर गरेको हो । समाजको कारण प्रविधि आएको हो । फेसबुक पनि समाजले आवश्यक ठानेरै विकास गरेको हो र त लोकप्रिय भयो । पूँजीवादी पूर्वको समाज र पूँजीवादी पछिको समाजमा सम्बन्धमा पाइने आधारभूत फरक हुन्छन् ।

समाज पूँजीवादी चरणमा पुग्नुअघि मानिसबीचका सम्बन्ध प्रगाढ हुन्छन् । जस्तो गाउँघरमा आजपनि सात पुस्ते थाहा हुने सम्बन्ध हुन्छन् । त्यो पूँजीवादी चरणमा पुगिनसकेको उदाहरण हो । तर सहरमा सम्बन्ध छिपछिपे हुन्छ, चिनजान त धेरैसँग हुन्छ तर प्रगाढ सम्बन्ध हुदैन । प्रगाढ सम्बन्धको आवश्यकता पनि देखिदैन । सामाजिक सञ्जालले यस्तै छिपछिपे सम्बन्ध बनाउछ । युवा युवती प्रेम त पहिलेपनि गर्थे । डर थियो, स्कुल/कलेजमा किताबमा चिठी राख्दिन्थे । अहिले पूँजीवादी चरणमा प्रवेश गरिसकेको समाजमा प्रेम स्वीकार्य भयो । घेरा नाघ्ने क्रम बढैछ । सम्बन्ध विच्छेद गरी अर्को सम्बन्ध जोडिने क्रम पनि बढेको छ । सम्बन्ध विच्छेद हुदा बिग्रियो मात्र किन भन्ने, जबकी एउटा सम्बन्ध टुटेर अर्को जोडिनेवाला छ । यसैले सामाजिक सञ्जालमा उन्मुक्ती पाइने हुदा कतिपय सम्बन्ध तोडिएलान तर जोडिन्छन् पनि ।

0 comments:

Post a Comment