Monday, November 3, 2014

श्रुतिले पुर्‍याइदिइन् अन्तिम इच्छा

काठमाडौ, कार्तिक १५ - प्रायः फिल्ममा कसैलाई दुःख पर्‍यो भने नायक आएर उद्दार गर्छ र दर्शकको ताली पाउँछ । बलिउड नायिका श्रुति हसनले मृत्युको मुखमा पुगेकी एक बालिकाको अन्तिम इच्छा पूरा गरेर दुःखमा खुसी दिने प्रयत्न गरेकी छन्, रिलमा नभई रियलमै ।


केही दिनअघि मात्रै फिल्मको सेटमै उनलाई एक अनौठो फोन कल आयो । त्यसपछि उनी फिल्म 'यारा' को सुटिङ नै रोकेर एक दिनका लागि मृत्युको मुखमा पुगेकी १७ वर्षीया बालिकाको घर पुगिन् । बालिकालाई क्यान्सर भएको रहेछ ।

डाक्टरले अन्तिम अवस्थामा पुगेको क्यान्सरबाट उनलाई बचाउन नसक्ने भन्दै बरु बाँकी समय खुसी दिएर घरमै राख्न अभिभावकलाई भने । अभिभावकले छोरीलाई मन लागेको कुरा माग्न भनेपछि उनले आफ्नी फेवरेट हिरोइन श्रुतिलाई भेट्न चाहेको बताइन् ।

श्रुतिले पनि बालिकालाई पूरा एक दिन खर्चिएर खुसी तुल्याइन् । मुम्बईबाटै सीधै पुना झरेर बालिकाको घर पुगिन् र आफ्नै हातले उनीप्रति लेखेको चिठी पनि दिइन् ।

२८ वर्षीया श्रुतिले क्यान्सर पीडित बालिकाको अन्तिम इच्छाबारेमा 'मेक अ विस फाउन्डेसन' बाट जानकारी पाएकी थिइन् । त्यसो त मृत्युको मुखमा पुग्नेको अन्तिम इच्छा पूरा गर्नेमा श्रुति पहिली सेलिबे्रटी भने होइनन् ।

यसअघि यस्तै अन्तिम इच्छालाई अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन, गायक जस्टिन बिबर र माइली साइरसले पनि पूरा गरिदिएका थिए । चेन्नाई तामिलनाडुकी श्रुति फिल्म 'लक' बाट २००९ मै बलिउडमा डेब्यु गरेकी हुन् । तर गत वर्ष रिलिज भएको 'रमैया वस्तभैया' ले उनलाई उचाइ दिएको थियो ।

0 comments:

Post a Comment