Tuesday, August 2, 2016

पिसाब पोल्नुका १० कारण, बच्ने उपायहरु जानी राखौं !!!

मानिसको पिसाब धेरै कारणले पोल्ने गर्छ । सामान्य कारणले पिसाब पोल्ने रोगको हामी घरेलु उपचार गर्न सक्छौँ । तर, कतिपय अवस्था भने जटिल पनि हुनसक्छ । मानिसको पिसाब पोल्नुको कारण थाहा पाउनुअघि पिसाबको प्रकृति पनि थाहा पाउँदा राम्रो हुन्छ ।


१, शरीरमा रहेका अनावश्यक तत्व पिसाब र पसिनाका माध्यमबाट बाहिर निस्कन्छन् । मिर्गौलाका माध्यमबाट शरीरमा रहेका विकार बाहिर निकाल्ने काम पिसाबले गर्छ । पिसाब थैलीमा पिसाब भरिनेबित्तिकै स्नायु प्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ । सकेसम्म पिसाब लागेको महसुस भएको एक–दुई मिनेटभित्रै हामीले पिसाब फेर्नु राम्रो हुन्छ ।
२, एउटा स्वस्थ मानिसको शरीरमा एक दिनमा डेढ लिटरदेखि दुई लिटरसम्म पिसाब बन्छ । तर, पानी कम या धेरै पिउनेहरूमा पिसाब बन्ने परिमाण केही तल–माथि हुनसक्छ । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता दुई सयदेखि तीन सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सामान्यतया एउटा मानिसले दिनमा पाँचपटक पिसाब फेर्नु राम्रो हुन्छ । एक–दुईपटक तल–माथि हुनु सामान्य मानिन्छ, तर धेरै नै फरक परेमा केही समस्या हुनसक्छ ।
३, पिसाब कम आउनुको मुख्य कारण भनेको कम मात्रामा पानीको सेवन गर्नु हुनसक्छ । पानी कम पिउँदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै, लामो समयसम्म पिसाब रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुनसक्छ । त्यस्तो वेला पिसाब पोल्छ ।
४, सामान्यतया पिसाबको रङ हल्का पहेँलोदेखि अलि गाढा पहेँलोसम्म हुनसक्छ । तर, अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नुपर्दैन । एक दिनभन्दा बढी यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुनसक्छ ।
५, पिसाब थैली तथा नलीमा संक्रमण भएमा पिसाब फेर्दा पोल्ने, दुख्ने, पिसाब लाग्नेबित्तिकै गइहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गनाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राति सुतेको समयमा पनि पिसाब लागिरहने, पिसाब लागेजस्तो हुने तर शौचालय जाँदा थोरै मात्र आउने हुन्छ । यस्तो समस्या भए पिसाब थैली तथा नलीमा संक्रमण भएको हुनसक्छ ।
६, पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । महिलाको पाठेघर र पिसाब थैली एकदमै नजिक हुन्छ । साथै पुरुषको तुलनामा महिलाको पिसाब नली निकै छोटो हुन्छ, जसले गर्दा महिलालाई धेरै सताउँछ । संक्रमणका कारण पिसाब थैलीभित्रको म्युकोज थैलीको भित्रपट्टि रहेको छालाजस्तो भागमा घाउ बनेको हुन्छ । पिसाब एसिडिक हुने हुँदा उक्त घाउमा पिसाब पर्दा पोल्ने समस्या देखिन्छ । पिसाबका माध्यमबाट बाहिर निस्कने विकार ‘क्रिस्टल सियोजस्ता हुन्छन् । कम पानी सेवन गरेमा उक्त क्रिस्टलले पिसाब थैलीमा घोच्छ र दुख्न थाल्छ । उक्त घोचाइ बढ्दै जाँदा घाउ हुन्छ र थप समस्या निम्तिने गर्छ ।
७, पिसाब थैली तथा नलीमा हुने कुनै पनि संक्रमणले थैली र नलीको भित्तामा घाउ बनाउँछ । सो घाउमा एसिडिक पिसाब पर्दा पोल्न, दुख्ने समस्या हुन्छ । सामान्यतया जुनसुकै कारण संक्रमण भएको क्षेत्र वरपर रातो हुने, सुन्निने, तातो हुने, दुख्ने हुन्छ । पिसाबको संक्रमणमा पनि यही समस्या देखापर्ने हो ।
८, सरसफाइको कमी, सन्तुलित आहारको कमी, अन्य संक्रमणका कारण कहिलेकाहीँ पिसाब एसिडिकबाट अल्कोलाइन बन्छ । पिसाब अल्कोलाइन हुँदा ब्याक्टेरियाले हुर्कने राम्रो वातावरण पाउँछ र संक्रमणले तुरुन्तै समातिहाल्छ । यस्तो अवस्थामा पिसाबमा क्रिस्टल बन्ने सम्भावना पनि अत्यधिक रहन्छ । संक्रमणका कारण पिसाब गनाउनेसमेत हुन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई प्युरिया भनिन्छ ।
९, पिसाबमा रगत आउनुको कारण भनेको संक्रमणले बनाएको घाउमा रहेका नसा च्यातिएर वा फुटेर हो । रगत नै आउने अवस्थाका बिरामीले चिकित्सककहाँ पुगेर उपचार थालिहाल्नुपर्छ । पिसाबमा रगत आएको छ, तर दुख्दैन भने अनावश्यक मासु पलाएको कारणले हुने गर्छ । पिसाब नली तथा थैलीमा संक्रमण हुनुको कारणमा व्यक्तिगत सरसफाइको कमी, यौनांगको सरसफाइमा ध्यान नदिनु, यौनसम्पर्क, अन्य संक्रमण, पानीको कम सेवन, अशुद्ध पानीको सेवन, पिसाब फेरिसकेपछि पूरै ननिस्कनु नै हो । संक्रमण गराउने ब्याक्टेरिया पिसाब तथा थैलीबाट नै आउँछ । सामान्यतया एक मिलिलिटर पिसाबमा एक सयदेखि एक हजार ब्याक्टेरिया छ भने त्यसले कुनै असर गर्दैन । तर, त्यो संख्या बढेर पाँच गुणा भयो भने समस्या निम्तिने गर्छ ।
१०, पानी सेवन कम गर्दा पनि ब्याक्टेरियाको संख्या बढ्ने खतरा हुन्छ । गर्मी समयमा बढी डिहाइड्रेसनको समस्या देखिन्छ, जसले पनि पिसाबको संक्रमण हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएको समयमा पिसाबको संक्रमण बढी हुनसक्छ । यसका साथै मिर्गौला तथा पिसाब थैलीमा हुने पत्थरी, गर्भवती, मेनोपेज भएका महिला, मधुमेह, क्याथेटर राखिएको मानिस, जन्मजात समस्या तथा विभिन्न केमिकलको प्रयोगका कारणले पनि पिसाबमा समस्या निम्त्याउन सक्छ ।
यसो गरौँ
पिसाबको संक्रमणबाट जोगिन प्रशस्त मात्रामा पानी पिउने, अमिलो फल जस्तै– कागती, मौसम, सुन्तला खाने गर्नुपर्छ । यी फलमा साइट्रस एसिड हुन्छ । जसले मूत्र संक्रमण गराउने जीवाणु नष्ट गर्न सहयोग गर्छ । त्यस्तै, यौनांगको सरसफाइसँगै व्यक्तिगत सरसफाइमा ध्यान दिने, शुद्ध पानी पिउने, नुहाउँदा तेल लगाएर नुहाउने तथा पिसाबको विभिन्न समयमा जाँच गर्ने गर्नुपर्छ ।
पिसाब पोलेको जस्तो अनुभव हुनेबित्तिकै मानिसहरू आफूखुसी एन्टिबायोटिक खान्छन् । त्यो सरासर गलत काम हो । पिसाबको संक्रमणलाई सामान्य रूपमा लिएर हेलचेक्र्याइँ गर्दा गम्भीर समस्या निम्तिन सक्छ । यस्तो समस्या भएमा पिसाबको ल्याब परीक्षण गराउने र चिकित्सकको सल्लाहबमोजिम मात्र औषधि खाने गर्नुपर्छ । 

0 comments:

Post a Comment