Wednesday, August 3, 2016

प्रधानमन्त्री चुनावका रोचक दृश्य : दाहाल दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए ।

श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए । एक त संसदीय प्रणालीप्रति नै असहमत दलका नेता, त्यो पनि पहिलो र दोस्रो ठूलो पार्टीलाई उछिन्दै पुन: मुलुकको प्रमुख कार्यकारी पदमा पुग्नु नै रोचक हो । तर संसदमा बुधबार भएको निर्वाचनमा अरु पनि केही रोचक दृश्यहरु देखिए ।



रोचक दृश्य १
नयाँ संविधान जारी भएपछि बिरलै संसद बसेका मधेस केन्द्रित दलका सांसदहरु पूरै समय बैठकमा अडिए । उनीहरुका नेता उपेन्द्र यादवले संविधान स्वीकार गर्ने अवस्थामा आएकोसमेत बताए । जबकि यादव नै संविधान संशोधन होइन, पुनर्लेखन नै माग गर्दै आएका थिए । मधेसी मोर्चासहितको सिंगै संघीय गठबन्धनले पुष्पकमल दाहाललाई मत दिए ।

रोचक दृश्य २
नयाँ संविधान जारी भएपछि बल्लतल्ल संसद भरिएको दिन एकजना सांसदलाई बस्ने कुर्सी नै भएन । संसद सचिवालयको लापरबाहीले सांसद अभिषेकप्रताप साह झण्डै २० मिनेट उभिरहे । संघीय समाजवादी फोरमका उनी किन उभिएका हुन् भनेर धेरै सांसदहरु अन्यौलमा थिए । प्रधानमन्त्री उम्मेदवार पुष्पकमल दाहाल बोलिरहँदा बीचमै संसद सचिवालयका एक कर्मचारी कुर्सी बोकेर गएपछिमात्रै पो थाहा भयो उनले त बस्ने कुर्सी नै पाएका रहेनछन् ।

रोचक दृश्य ३
बाबुराम भट्टराई सरकारमा १३ दिनबाहेक ०६५ सालयता सत्तामा कांग्रेस–माओवादी भेट भएको थिएन । बिल्कुलै फरक धारको नेतृत्व गरेका दुई दल एक ठाउँमा त आए, तर भावनात्मकरुपमा भने एक नभएकोजस्तो देखिन्थ्यो । जस्तो कि प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल बोलिरहँदा माओवादी सांसदहरुले मात्रै समर्थनमा ‘ढ्याप–ढ्याप’ बजाउँदे । दाहाललाई समर्थन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा बोल्दा कांग्रेसका सांसदलेमात्रै बजाउँदे । तालमेल मिलेको थिएन ।

रोचक दृश्य ४
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहाल बोलिरहँदा मर्यादाविपरीत दर्शकदीर्घामा रहेका एक कार्यकर्ताले थपडी मारे । मर्यादापालकले उनलाई निकाले । दर्शक पास लिएर गएकालाई पूर्वसूचना नहुँदा विगतमा यस्ता क्रियाकलाप भएका छन् ।

रोचक दृश्य ५
परिवार दलका अध्यक्षसमेत रहेका मन्त्री एकनाथ ढकाल र विश्वेन्द्र पासवान संसदमा पनि मन्त्री बस्ने कुर्सीमै थिए । तर प्रधानमन्त्री चुनावमा भने उनीहरुले माओवादी उम्मेदवार दाहाललाई नै भोट थिए । केन्द्रीय समितिको निर्णयअनुसार परिवार दलले दाहाललाई भोट दिने निर्णय गरेको थियो । यद्यपी, दाहाललाई भोट दिन कतिपय साना पार्टीका मन्त्रीले राजीनामा दिइसकेका थिए । परिवार दलका एक र पासवानको पार्टीबाट उनी एक्लै सांसद छन् ।

रोचक दृश्य ६
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि केही जवाफ फर्काए । उनले ओलीलाई आक्रामक जवाफ दिंदा देउवा भने ओलीलाई घरी घरी बोलाउँथे । उनीहरुको कुर्सी आमने सामने थियो ।

रोचक दृश्य ७
धेरै विकासे घोषणा गरेको भनेर आलोचना गर्ने दाहालले कुनै अमुक विज्ञको हवाला दिंदै ‘नेपालमा २ अर्ब पर्यटक आउन चाहेका छन्’ भन्दा कांग्रेसकै सांसदहरु गलल्ल हाँसेका थिए । पछि देउवाले त ओलीलेजस्तै दाहालले पनि ‘पूरा हुन नसक्ने योजना अघि सारेको’ भन्दै नसक्ने कुरा गर्न नहुने बताएका थिए ।

रोचक दृश्य ८
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहालले भाषण गरे, सूचना नै दिन भने भुले । रोस्टमबाट झरेर कुर्सीमा बस्नेवित्तिकै नजिकै रहेका पूर्वसभामुखले उम्मेदवारीको सूचनाबारे ध्यानाकर्षण गराएजस्तो देखिन्थ्यो । त्यसपछि उनी मुसुमुसु हासे । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई पनि दाहाललाई हेर्दै मुसुमुसु हासिरहेका थिए ।

रोचक दृश्य ९
प्रधानमन्त्री उम्मेदवारका पहिलो समर्थक देउवाले दाहालको नामै भुले । आफ्ना धारणा संक्षिप्त राखेपछि उनले भने, ‘...यति भन्दै म प्रचण्ड...के रे...कमल दाहाल...पुष्पकमल दाहाल प्रचण्डजीलाई समर्थन गर्दछु ।’ उनले व्यक्तिगतरुपमा दाहाल र संस्थागतरुपमा माओवादीले किन समर्थन गरेको भनेनन् । बरु पुनर्निर्माण, जनतालाई राहत र सन्तुलित विदेश नीतिकोबारेमा धारणा राखे ।

रोचक दृश्य १०
प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको दलका सांसद योगेन्द्र तामाङ मतदानमा भाग लिन पाएनन् । विभाजन घण्टीअघि बाहिरिएका उनी ढिला छिर्न लाग्दा ढोका बन्द भइसकेको थियो ।

रोचक दृश्य ११
प्रधानमन्त्रीको निर्वाचनमा मत दिएर बाहिरिएलगत्तै दाहाल छेऊमा पुगे राप्रपाका सांसद सुनिलबहादुर थापा । केहीबेर उनीहरु गफिंदै थिए, थापाको मोबाइलमा फोन आयो, दाहालले विजयी भावमा कुरा गरे । अनुमान भइरहेको थियो, कसको होला ? पछि थाहा भयो, फोन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेछ । ताकि त्यतिबेला औपचारिकरुपमा दाहाल प्रधानमन्त्री निर्वाचित भइसकेका थिएनन्, तर निर्वाचित हुने चाँही पूरै निश्चित थियो ।

रोचक दृश्य १२
दाहाल निर्वाचित भएपछि पहिलो बधाई पूर्वसभामुख एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दिए । त्यसपछिमात्रै अरु सांसद पुगे ।



0 comments:

Post a Comment