Tuesday, June 30, 2015

जिन्जि प्लुत् अर्थात जय नेपाल अर्थात सबै सक्यो !

बहुभाषिक मुलुकमा बनेको स‌विधानमा न भाषानीति छ, नत मातृभाषामा शिक्षा नै ।

जिन्जि प्लुत् अर्थात जय नेपाल । तामाङ भाषामा ‘जिन्जि’को अर्थ ‘सक्यो’ हुन्छ । ‘प्लुत’ अनुकरात्मक शब्द हो जसको अर्थ ‘सबै’ वा ‘भएभरको’ भन्ने हुन्छ। “जिन्जि प्लुत्” सबै सक्यो भन्ने अर्थ लाग्छ। हाल प्रयोगमा देखिएको “सकिगो नि” जस्तै। तर यसको प्रयोग तामाङहरुबीच “जय नेपाल”को अर्थमा हुन थाल्यो, तर कसरी ?

२०५१ सालको कुरो हो । ध्यानबहादुर मोक्तान र म रेडियो नेपालमा ४:०५ को तामाङ समाचार वाचन गरेर नयाँ बानेश्वर हुँदै डेरा लाग्ने गर्दथ्यौं। नयाँ बानेश्वरतिर कतै नेपाली कांग्रेस पार्टीको कार्यालय थियो र नयाँ बानेश्वर चोकमा कांग्रेसी तामाङ युवाहरु भेटिन्थे। चुनावमा टिकट वितरणको अवसर थियो। साथी ध्यानबहादुरका बुबा जेलनेल भोगेका कांग्रेसी नेता हुनाले ध्यानजीलाई धेरैले चिन्थे। उनी तामाङ ‘भाषामा टिकट पायो कि पाएन’ भनेर सोध्ने गर्दथे। जवाफ हुन्थ्यो “जिन्जि प्लुत” !

यो क्रम एक हप्ता जति चल्यो । यसपछि कांग्रेसी साथीहरुसँग भेट हुँदा “जय नेपाल”को अर्थमा “जिन्जि प्लुत” भन्ने थेगो नै चल्यो र चली नै रह्यो। यस पालि सिटौलाले संविधानमा भाषालाई “जिन्जि प्लुत” गरिदिए।

“गाई खाने भाषा नबोल” भनेर फेरि पनि तपाईंलाई आरोप लगाउन सकिनेछ । जिन्जि प्लुत !
नेपालको संविधान, २०७२ मस्यौदामा भाषा, शिक्षा र संस्कृतिसम्बन्धी प्रावधान-

१. प्रस्तावनाः … “बहुभाषिक” शब्दको प्रयोग ।

२. धारा ६ राष्ट्भाषाः “नेपालमा बोलिने सबै भाषाहरु राष्ट्भाषा हुन् ।”

३. धारा ७ सरकारी कामकाजको भाषाः (१) “देवनागरी लिपिमा नेपाली भाषा नेपाल राष्ट्रको सरकारी कामकाजको भाषा र संघ र प्रदेश तथा प्रदेशहरुबीचको सम्पर्क भाषा हुनेछ ।” (२) “प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी भाषालाई कानुनबमोजिम सरकारी कामकाजको भाषा चयन गर्नेछ ।”

४. धारा ३६ शिक्षासम्बन्धी हक धारा ३६(५) “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायले आफ्नो मातृभाषामा माध्यमिक तहसम्म शिक्षा प्राप्त गर्न कानुन बमोजिम विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न हक हुनेछ।”

५. धारा ३७ भाषा तथा संस्कृतिसम्बन्धी हक धारा (१) प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ । (५) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सास्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वर्धन गर्ने हक हुनेछ ।

बस्, बहुभाषिक मुलुकमा भाषासम्बन्धी धारा यत्ति हो। हामीलाई त भाषासम्बन्धी एउटा भाग नै होला जस्तो लागेको थियो। यहाँ भाषानीति छैन, मातृभाषामा शिक्षा पनि छैन।

यसैगरी आम सञ्चारको हक (धारा २४), न्यायसम्बन्धी हक (धारा २५), छुवाछूत तथा भेदभावविरुद्धको हक (धारा २९), सूचनासम्बन्धी हक (धारा ३२) अनि शोषणविरुद्दको हक (धारा ३४) आदिमा कतै पनि मातृभाषा छैन। यसको अर्थ हुन्छ: तपाईले माथि उल्लेखित कुनै पनि धारामा न्याय पाउनु हुने छैन।

“गाई खाने भाषा नबोल” भनेर फेरि पनि तपाईंलाई आरोप लगाउन सकिनेछ । जिन्जि प्लुत !

0 comments:

Post a Comment