Tuesday, February 10, 2015

मेरो महिनावारी किन रोकिएको होला, अब मैले के गर्ने ?

म अविवाहित महिला हुँ । मैले ५ पटक यौनसम्पर्क राखिसकेकी छु । हामीले फरक-फरक समयमा सम्पर्क गरेका थियौं । त्यस क्रममा मैले ४ पटक इकोन प्रयोग गरें भने १ पटक आइपील प्रयोग गरें । हाल २ महिनादेखि मेरो महिनावारी भएको छैन । गर्भ रह्यो कि भनेर घरैमा परीक्षण गर्दा गर्भ नरहेको देखियो । मेरो महिनावारी किन रोकिएको होला ? अब मैले के गर्ने ?


गर्भ रहन नदिन तपाईंले प्रयोग गरेको इकोन र आइपिल दुवै एउटै औषधि हो, बजारमा ल्याउने कम्पनी मात्र फरक हो । आकस्मिक गर्भनिरोधक चक्कीका रूपमा प्रचलित यी औषधि भरपर्दा पनि छन्, तर हरेक महिना यसको प्रयोगले तपाईंको महिनावारीको नियमित तालिकामा असर पुगेको हुनसक्छ । महिनावारी हुने प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रोजेस्ट्रोन हार्मोन यी परिवार नियोजनका आकस्मिक साधनमा प्रयोग गरिएको हुन्छ र यसले हाम्रो प्राकृतिक रूपमा उत्पादन हुने प्रोजेस्ट्रोन हार्मोनको सन्तुलनमा गडबडी ल्याउन सक्ने भएकाले यस्तो भएको हो । यद्यपि बिस्तारै हार्मोनको सन्तुलन आफैं कायम हुने र महिनावारी नियमित हुने भएकाले डराउनु पर्दैन । महिनावारी नभए पनि गर्भ रहन सक्ने भएकाले असुरक्षित यौनसम्पर्क राख्नु हुँदैन भने हरेक महिना नियमित रूपमा यी साधन प्रयोग गर्नु पनि उपयुक्त मानिँदैन ।

0 comments:

Post a Comment