Wednesday, April 29, 2015

आफ्नो दुःख लुकाएर अरुलाई बचाउने एक प्रहरीको पीडा :

भूकम्पले घरको जग नै उखेलेपछि बुबा आमा सानो पालको भरमा रात दिन कटाईरहनु भएको छ । भूकम्पले घरको बास खोसेपछि पाखामा पाल टाँगेर बसिरहेका बुबा फोनमा रुँदै भन्नुहुन्छ ‘बाबु घर आइज, हामीलाई बस्ने बन्दोबस्त मिलाईदे ।’ उता भूकम्प आएकै दिन बल्खुमा रहेको मामा घरबाट चरीकोट जान पुरानो बसपार्कतिर लागेका दिदी भिनाजु र भान्जाको अत्तोपत्तो छैन । तर दोलखाको घ्याङ सुकाठोकर – २ देउरालीका विश्व भण्डारीलाई न बुबाको आग्रह सुन्ने फुर्सद छ, न त दिदी भिनाजुको खोजतलास गर्ने नै । नेपाल प्रहरीका जवान विश्व भण्डारीलाई अरुको उध्दार गरि ज्यान बचाउने कामले नै सन्तोष दिएको छ । शसस्त्र प्रहरीको प्रहरी जवान पदमा कार्यरत भण्डारी भूकम्प पीडितलाई उद्धार गर्नु नै आफ्नो कर्तव्य ठान्नुहुन्छ । भण्डारीले भूकम्प गएको दिनदेखि अहिलेसम्म धेरैलाई अस्पताल पुर्‍याउनुभएको छ । कतिलाई जीवितै उद्धार गर्नुभएको छ, घरले थिचेका शबहरु उत्खनन गरी निकाल्नुभएको छ र काँध हाल्नुभएको छ । पारिवारिक दुखलाई लुकाएर दिनरात अरुकै उद्धार र राहतमा खटिरहेका भण्डारी भन्नुहुन्छ ‘संगठनले दिएको आदेश पालना गरेर उद्धारमा खटिन पाउँदा मेरो घर लडेको विर्सेको छु, राज्यको निर्देशन पालक हुँ, त्यही जिम्मेवारी पूरा गर्न पाउँदा बुबाआमाले बगाएको आँशु पनि विर्सदो रहेछु ।


मैले राज्यसँग विपत्तिको बेला आफ्नो कौशल देखाउने कसम खाएपछि व्यक्तिगत मामिलालाई ध्यान दिनु भन्दा राष्ट्रिय अभिभारा पूरा गर्नु मेरो पहिलो दायित्व हो ।’ भक्तपुरमा भत्किएका घर उत्खनन गर्दैगर्दा भेटिएका भण्डारीले भन्नुभयो । ‘विपद व्यवस्थापन गर्न राज्यबाट कार्यदेश पाएको शसस्त्र प्रहरीको जवान भएर मैले कायरता देखाउनु हुदैन । त्यसैले भूकम्पका झट्काहरु आउँदा पनि वास्ता नगरी हामी उद्धारमै जुटिरह्यौं । बेला बेलामा भूकम्पका धक्काहरु आईरहे, त्यत्तिबेला पनि हामीले खतरा मोलेर उद्धारको काम गरिरह्यौं ।’ भण्डारी उद्धारको बेलिविस्तार सुनाउदै हुनुहुन्थ्यो । उद्धारको क्रममा सबैभन्दा आत्मिक सन्तुष्टि कतिबेला मिल्दोरहेछ ? ‘शनिबार दिउँसो २ बजेदेखि राती १० बजेको बीचमा विभिन्न धक्काहरु आईरहेका थिए । विपद व्यवस्थापनका टीमहरु हामी ड्रिल गरिरहेका हुन्थ्यौं, तर साना तिना धक्कामा हामी अतालिएनौं, हामीलाई एक प्रकारको नशा लागिसकेको थियो ।

भित्रबाट हात हल्लाईरहेको र बचाउ भन्ने सुन्ने वित्तिकै हामीले आफ्नो ज्यान पनि माया मार्‍यौं । जब जीवितै उद्धार गर्न सफल हुन्छौं त्यो बेलाको आत्मिक सन्तुष्टि बर्णन गरिसाध्य छैन ।’ भण्डारीले बताउनुभयो । दिनरात अरुकै उद्धारमा खटिरहेका भण्डारीको योजना छ, देशको अवस्था सामान्य भएपछि घर फर्कने । त्यतिन्जेलसम्म पनि दिदी भिनाजुको परिवार सम्पर्कमा आएनन् भने खोजी गर्ने ।
छोरोको कानको उपचार गर्न एक हप्ता अघि विश्व भण्डारीका दिदी भिनाजु दोलखाको चरीकोटबाट काठमाडौ आएका थिए । मामाघर बल्खु बसेर छोराको उपचार गरेपछि भूकम्प गएकै दिन (शनिबार) साढे दश बजेतिर माइक्रो चढेर पुरानो बसपार्क गएका थिए । त्यही दिन पुरानो बसपार्कबाट बस चढेर चरीकोट जान हिडेका भण्डारीका दिदीभिनाजु अहिलेसम्म चरीकोट पुगेका छैनन् । भण्डारीले यसबीचमा घ्याङ सुकाठोकर दोलखामा पनि सम्पर्क गर्नुभएको छ ।
तर अहिलेसम्म अत्तोपत्तो छैन । भण्डारी भन्नुहुन्छ ‘दिदी भिनाजु दुवैको मोबाइल स्वीच अफ छ ।’ उहाँले दिदी भिनाजुको परिवारको खोजबिन गरिदिन समेत आग्रह गर्नुभएको छ ।

0 comments:

Post a Comment