Thursday, October 2, 2014

दिलाइन विमला तामाङले नेपाललाई पहिलो पदक

दक्षिण कोरियामा भइरहेको १७ औँ एसियाली खेलकुदमा कराते खेलाडी विमला तामाङले नेपाललाई पहिलो पदक जिताएकी छिन्।


महिला तर्फ कराते अन्तर्गतको  कातामा १९ वर्षीया तामाङले कास्य पदक जितेकी हुन्।
 उनले विहिबार उत्तर कोरियाकी काङ जियुइलाई ५:० ले हराउँदै कास्य पदक हात पारेकी हुन्।

आजै भएको क्वार्टर फाइनलमा पाकिस्तानी कुलसूमलाई ४:१ले हराएकी तामाङले सेमिफाइनलमा भियतनामकी गुएन होआङ गान संग भने हार बेहोर्नु परेको थियो।

गान सित ०:५ले पराजित भएपनि उत्तर कोरियाकी जियुइलाई भने ५:० ले नै हराएकी हुन्।
 एसियाडमा अहिले सम्म नेपालले यही मात्रै पदक हात पारेको छ। 

नुवाकोट विजयको सम्झना

नेपाल एकीकरणको जग बसाउने नुवाकोट विजय अभियानलाई प्रत्येक वर्ष असोज १५ गते विजयोत्सव मनाउने परम्परा सुरु भएको छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्नुअघि २४ वर्षसम्म नुवाकोटलाई राजधानी बनाएका थियो । गोरखाका राजा पृथ्वीनारायणले १८०१ सालमा नुवाकोट विजय गरेका थिए । उत्तरको तिब्बत–चीन र दक्षिण भारतसँगको व्यापारको रणनीतिक नाका नुवाकोट विजयले नेपाल निर्माण अभियानलाई सुनिश्चित गरेको थियो ।

पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानको आयोजनामा स्थानीय र राजधानी काठमाडौंबाट गएका बुद्धिजीवी, इतिहास संस्कृतिविद, राजनीतिक कार्यकर्ताहरू नुवाकोट दरबारमा आयोजित कार्यक्रममा सरिक भएका थिए ।
राससका अनुसार, कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर देवकोटाले नेपालमा राष्ट्रवादको पुनर्जागरण गर्न आवश्यक छ भन्दै सङ्घीयता, धर्मनिरपेक्षता र वर्तमान निर्वाचन पद्धतिप्रतिको धारणामा पुनर्विचार गर्नुपर्ने बताएका थिए ।

पृथ्वी विचारका प्रबर्द्धक खगेन्द्रराज सिटौला, सिनासका पेशल निरौला, नागरिक समाजका भरत बस्नेत, अनिल योगी, राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य धर्मराज बराल र नुवाकोट अध्यक्ष यादवप्रसाद पाण्डे, सोमप्रसाद पाण्डेलगायतले नेपालका राष्ट्रिय धरोहर समाप्त पार्ने विदेशीको योजना परास्त पार्नुपर्नेमा जोड दिए।

इतिहास तथा संस्कृतिका अध्येयता डा. रमेश ढुंगेलले राजा पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार होइन नेपाल राज्यको निर्माण गरेका हुँदा उनको नाम लिन अप्ठ्यारो मान्न नहुने बताएका थिए ।
नुवाकोट विजय गरेपछि पृथ्वीनारायणले राजधानी पनि नुवाकोट सारेका थिए । र, राष्ट्र एकीकरण अभियान पूरा नहुञ्जेल नेपालको राजधानी नुवाकोट रह्यो । त्यहाँ रणनीतिक महत्वलाई ध्यानमा राखेर दरबार समेत बनाइएको ढुंगेलले सेतोपाटीलाई बताए ।

‘नुवाकोट विजय नभएको भए नेपाल एकीकरणको जग बस्दैनथ्यो,’ ढुंगेलले भने, ‘नुवाकोट विजयले नेपाल निर्माणका निमित अर्थ र सामरिक शक्ति दियो ।’
राजा पृथ्वीनारायणका पिता नरभूपाल शाहले पनि नुवाकोट विजयको प्रयास गरेका थिए । त्यो बेला उनी सफल हुन सकेनन् । त्यो बेला राजा आफै निराश भएका थिए । तर, उनका पिताको त्यो असफल योजना पृथ्वीनारायणले २० वर्षको उमेरमै पूरा गरेका थिए ।

डा. ढुंगेलका अनुसार, नुवाकोट विजय गर्नुअघि पृथ्वीनारायणले खिंचेतपट्टिबाट पहरो खोलेर बाटो निकालेका थिए । जलुवा माझीको सहयोग लिएर आफ्ना सैनिक नुवाकोट हान्न उतारेका थिए । विजयपछि उनलाई त्यो ठाउँ पृथ्वीनारायण शाहले बकस दिएपछि माझीटार भयो ।

नुवाकोटका शासकलाई खिंचेतमा गोर्खालीहरूले कुलो खनिरहेको भन्ने लागेको थियो । माथि कोटबाट तल माझीले मान्छे तारेको देखिन्नथ्यो । तर, माझीले सबै सैनिकलाई पालैपालो तारेका थिए । पछि पृथ्वीनारायणले भनेका थिए, ‘बहाना खिंचेतको कुलोको दावा नुवाकोट किल्लाको ।

पृथ्वीनारायणले आफ्ना १२ वर्षे भाइ दलमर्दन शाहलाई बालकै भएकोले लडाइँमा नजानू भनेका थिए । उनी पनि लुकेर त्यहाँ पुगेका थिए । नुवाकोटभन्दा माथिको महामण्डल भन्ने डाँडोमा लडाइँ हुँदा दलमर्दन फुत्त निस्किएर लड्न थाले ।

उनैले त्यहाँका प्रशासक जयन्त रानाका छोरा शंखमणिको गर्दन काटे ।
शत्रु पक्षको सेना नायकलाई १२ वर्षको किशोरले काटेपछि पृथ्वीनारायणले पनि उनको प्रशंसा गरे । उमेर नपुगेको मान्छेले जानु हुँदैन भने पनि उसले ‘जेठी तरबार चलायो बढिया भयो, भगवतीले आशिर्वाद दिएकै हो’ भनेका थिए ।

त्यो बेला बेलकोट, महामण्डल र अहिले दरबार भएको नुवाकोट तीन ठाउँमा युद्ध थियो । नुवाकोटमा हार भएपछि आफ्ना सेना लिएर जयन्त राना बेलकोटमा गएर बसेका थिए र फेरि त्यसलाई फिर्ता लिन खोजिरहेका थिए । त्यो बेलासम्म भक्तपुरका राजा जयप्रकाशकै शासन अन्तर्गत नुवाकोट थियो ।

डा. ढुंगेलले इतिहासको घटना सम्झँदै भने, त्यही नुवाकोट दरबारको डबलीमा आफ्ना २२ सय सेनालाई जयप्रकाशका ८ हजार सेनासँग लड्न पठाउनु अघि पृथ्वीनारायणकी रानीले सिपाहीलाई सातुसामल, भुटेका मकै, चिउरा र सख्खर दिई पठाएकी थिइन् । ती आठहजारलाई जित्न तिमीहरू काफी छौ भनेर हौसला बढाई पठाइएको थियो ।

‘नभन्दै ती आठ हजारलाई जितेपछि जयन्त रानालाई पक्रेर ल्याई नूनचूक लगाएर शहर घुमाइएको थियो,’ ढुंगेलले इतिहासको सम्झना गर्दै भने । राना गोर्खा दरबार छाडेर भक्तपुर आएका राजासँग मिली नुवाकोटको प्रशासक भएर गएकाथिए । पृथ्वीनारायणले आफूसँग मिल्न आग्रह गर्दा रानाले ‘जयप्रकाशको नून खाइसकें मैदानमै भेट होला’ भन्ने जवाफ पठाएका थिए ।

हट प्रियंकालाई गाउँले केटी बन्न गार्‍हो भयो

काठमाडौं । शहरमा जन्मेर शहरमै हुर्केकि हुन् प्रियंका कार्की । सुविधा सम्पन्न कलेज पढेकी पि्रयंकाले अभिनय गर्दा पनि धेरै जसो फिल्ममा शहरीया युवतिकै चरित्र निर्वाह गरिन् ।


फिल्म र म्युजिक भिडियोमा ‘हट’ अवतारमा प्रस्तुत भएकी प्रियंकाले पछिल्लो पटक सोझी गाउँले युवतिको भुमिका निर्वाह गरेकी छिन् । भाष्कर ढुंगाना निर्देशित चलचित्र ‘सुन्तली’ मा मुख्य भुमिका निर्वाह गरेकी पि्रयंकाले गाउँले बन्न आफुलाइ निकै गार्‍हो भएको बताईन् ।

उनि भन्दैथिइन् ‘शहरमै जन्मे हुर्केकाले मलाइ गाउँले युवतिको चरित्र निर्वाह गर्न निकै गार्‍हो भयो । तर, निर्देशकको सहयोगले राम्रो गरेको छु ।’ यो फिल्मवाट निकै आशावादी छिन रे उनी ।

रंगमञ्चकी पुरानी कलाकार सूर्यमाला खनालले पनि यो फिल्ममा अभिनय गरेकी छिन् । अर्का कलाकार अर्पण थापाले यस फिल्ममा सुचिकारको भुमिका निर्वाह गरेका छन् ।

दक्षिण एशियाको सबै भन्दा ठुलो मानिने बुसान इन्टरनेशनल फिल्म फेष्टिवलमा छानिएको यो फिल्मको नेपालको प्रदर्शन मिती भने टुंगो लागेको छैन ।

Wednesday, October 1, 2014

एकै परिवारका ४ को हत्या गर्ने अपराधी कुकुरले पता लगायो (भिडियोसहित)

लमजुङ, आश्विन १५ । लमजुङको भोटेओडार गाविसमा गएराति एकै परिवारका ४ जनाको हत्या गरिएको छ । भोटेओडार गाविस वडा नम्बर ४ रेग्मी गाउँका अर्जुन रेग्मीसहित उनका दुई छोरी र एक नातीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार रेग्मीका १५ वर्षकी छोरी ज्योति घिमिरे, ३५ वर्षकी छोरी रिना रेग्मी घिमिरे, उनका ११ वर्षका छोरा विकास घिमिरेको हत्या गरिएको हो ।

हत्या कसले र किन गर्‍यो भन्ने केही खुल्न नसके पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनका कान्छी श्रीमतीपट्टीका छोरा राममणी रेग्मीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको छ । नेपाली सेनाको हनुमानध्वज गुल्म महेन्द्रनगरमा कार्यरत राममणी गत भाद्र २५ गते घर आएका थिए । उनी झन्डै २ वर्षदेखि आफ्ना बाबुसँग छुट्टिएर बस्दै आएका थिए ।

घटनास्थलमा परिचालन गरिएका कुकुरले राममणीको घरमा देखाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दाले समेत राममणीकै संलग्नतामा घटना भएको आशंका गरेका छन् । घटनामा प्रहरीले एउटा खुर्पा र अर्को अचानोको रुपमा प्रयोग हुनसक्ने काठ समेत बरामद गरेको छ ।

घटना भएको थाह पाउने बित्तिकै घटनास्थल पुगेका लमजुङका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले घरायसी रिसिइबीका कारण हत्या भएको हुनसक्ने भन्दै थप अनुसन्धान थालिएको जनाए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय पोखराको टोलीले समेत अनुसन्धान थालेको छ ।
दसैंको मुखमा एकै परिवारका ४ जनाको हत्या भएपछि भोटेओडारको रेग्मी गाउँ शोकमा डुबेको छ ।

खुसी खोसिएको दशैं

सफा र उज्यालो आकास, चारैतिर हरियाली, खेतका आलीआलीमा लहलह झुलेका धानका बाला, बारीभरि फलेको पहेँलपुर तोरी, जताजतै मखमली, गोदावरी अनि हजारी। असोज महिना आफैंमा मनमोहक छ। धेरैका लागि खुसी र मनमोहक बोकेर आउने महिना हो यो सबैंका लागि समान कहाँ हुदो रहेछ र? यहि असोजको रंगीन वातावरणका बीच दैवले हाम्रो खुसी सदाका लागि खोसिदियो।

दुई वर्षअघि असोज २३ गते बिहान २६ वर्षको अल्पायुमै तारा रेग्मी (पत्रकार) लाई टपक्कै टिपेर लग्यो। समाचार पढेर राति एघार बजे घरमा छिरेको तारा बिहान कहिल्यै नउठ्ने गरी निदाएछ। निर्दयी कालले अलिकति पनि दया देखाएन हामीमाथि। तारा पोखिएर सुन्दर र रंगीन बनेको हाम्रो जीवनको हजारौं हजारको खुसी नदेखिने गरी मेटियो, नफर्कने गरी चुँडियो। अचानोको पीर खुकुरीलाई के था र? भोग्नेलाई मात्र थाह हुन्छ खुसी चुँडिएको पिडा कति हुन्छ। अभिव्यक्त गर्दा पनि मुटु चर्किन्छ, जीउ नै जिरिंग हुन्छ। रंग उडेर रंगहीन भइदियो जीवन। अनि जीवनको एक छेउ दशैँको त के कुरा भो र? कलरफोटोको नेगेटिभ जस्तो।

संझदा पनि बलिन्द्र आँसु झर्छन्। टीकाको दिन चार दिदी बहिनीको बिचमा बस्थ्यो तारा। उस्को स्थान नै बिचमा पर्ने। दुई दिदी र दुई बहिनी बीचको तारा थियो ऊ। म मायाले काले भन्थे ऊ आदरले दिज्यू भन्थ्यो। ममीबुबाले हामी पाँचै जनालाई बराबरी दक्षिणा दिनुहुन्थ्यो। त्यसैले पनि काले दशैंमा निकै नै खुसी हुन्थ्यो । हामी त्यसै रमाउँथ्यौ। साथीभाइ चाहिँदैनथ्यो, एकअर्का नै पर्याप्त। पाँच पाइला पनि नपर्ने मामा घरमा टीका लाउन हतारिन्थ्यौँ। दशैंको दक्षिणा कसैको तलमाथि भए बराबरी बनाइदिने काम बुबाको हुन्थ्यो। तर चार दिदीबहिनीबीच बस्ने तारा अब हामी बीच रहेन। ज्योतिबिनाको ममबत्ती बन्यौं हामी। ताराबिनाको रातजस्तो।

उमेर बित्दै गयो। २०६१ सालमा प्लसटु सकेर उच्चशिक्षाका लागि तारा काठमाडौं गए। होस्टेलमा बसी निस्टमा विज्ञान विषय पढिरहेको तारा मसँगै डेरामा आयो। बिहान कलेज जान्थिम् एघार बजे आएर खाना बनाउँथे। खाको नखाको गर्दै रिपोर्टिङमा दौडिन्थे। साँझ आउँदा ताराले खाना कुरिरहेको हुथ्यो। त्यो दशैंमा मैले उस्कै रोजाइमा बेन्टलीमा गएर १६ सयको जुत्ता किनिदिएँ, जुन उस्को बहूल्य जुत्ता बन्यो। कपुरधारास्थित डेराको बसाइ, दुइटा कोठा, न फोन? इन्टरनेटको कुरा त झन परको। राति कतिपटक गोलौरामा बजेको फोनको घन्टी कानमा गुन्जन्थ्यो। घर सम्झेर रुन्थिम्। हामी आफैँले कमाएको दुख थियो काठमाडौं बसाइ। आफ्नो खुट्टामा उभिनुपर्छ भनेर नै यसो गरिम्। दशैं कहिले आउला र रात्री बस चढेर दाङको रंगिन आँगनमा पुगिएला झैं हुन्थ्यो। बहिनीहरुलाई नयाँ लुगा, मरमसलादेखि लिएर तिहारका सामग्री समेत बोकेर दाङ हुँइकिन्थ्यो। दाङको समथर भुभागमा झुलिरहेका धानका बाला अनि चिसो चिसो हावाले हामीलाई नै स्वागत गरेको जस्तो भान हुन्थ्यो। पहेँलपुर तोरीले हामीसँगै प्रित लाएको आभास हुन्थ्यो। घरघरबाट आउने तेलको खारले हामीलाई पर्खिबसेको झैं लाग्थ्यो।

घर अगाडिको आधा कठ्टा जमिनमा हाम्रो फूलबारी थियो। हाम्रा औंला खियाएर बनाएको। जता गएनि फूलका बिरुवा बोकेर पुग्थिम् घर। थरिथरीका फूलहरु, रंगिविरंगी फूलहरु। फूल टिप्न लोभ लाग्थ्यो। तारा र मैले सजाएका दर्जनौं फूलहरु। गाउँघरमा पूजाआजा चल्दा डोकोभरी फूल हाम्रै घरबाट जान्थ्यो। मन मान्दैनथ्यो त्यसरी दिन त तर भगवानका नाममा चढाईम् धेरै फूलहरु। दशैंमा घर पुगेपछि फूलबारी गोडमेल गर्ने काम पहिलो हुन्थ्यो। मम्मीले तरकारी लगाउछु भन्दा पर्दैन् यहाँ लाउन्, घर पछाडि लाउनुस् भनेर धेरजसो जमिनमा लाएका फूल गोडमेल गर्न दुई तीन दिन नै लाग्थ्यो। यसरी गोडमेल गरेका फूलहरु बिहान फुलेको देख्दा मन दिनभरीलाई उज्यालो हुन्थ्यो। हामीले हुर्काएका सन्तान थिए ती। नरिवल, सुपारी, अनार, कफी, मेवा, आप अम्वा, धुपी, अशोकलगायत आँगनका थुप्रै बोटका जरा जरामा सेतो चुन र रातो माटो लाएर रंगिचंगी बनाउने काम बुवाको हुन्थ्यो। पेटीमा बसेर ममीले पकाएको सेल र काक्राको अचार खादा कति आनन्द आउथ्यो। सयौं संझनाहरु छन्, जुन म छताछुल्ल पारी पोख्न सक्दिन। पोंखौ त आफैलाई सम्हाल्न सक्दिन। बिहेपछि यी सबै कुरा सपना झैं लाग्थे। कुनै दिन त माइतीको आँगनीमा अघाउन्जेल बस्न पाइएला भन्ने आस हुन्थ्यो। तर अब तारा नरहेको घर कसरी उज्यालो होला? तारा नै नरहे के फूलको कुरा? मन भक्कान्छिन्, मुटु चिरिन्छ। ताराविनाको हाम्रो दशैं, खुसी खोसिएको दशैं, खोक्रिएको हाम्रो दशैं।

पीडाको पोखरीमा डुबेकी ममीलाई भुलाउनु मेरो पहिलो दायित्व। रोहन जन्मिएको खुसीयालीमा ममीलाई आफूसँगै राखे। रेगन र रोहनसँग खेल्दै जिस्कँदा छ महिना बितेको पत्तै पाउनुभएनछ। उनीहरुले मम्मीको मुहारमा यति खुसी छरिदिए कि उहाँ खित्का छोडेर समेत हाँस्न थाल्नुहुन्थ्यो। मेरो लिभिंग रुमको भित्तामा टाँसेका ताराका हँसिला तस्विर देखेर फेरि एक तमासले उहाँको मन खिन्न्न हुन्थ्यो। म आमा हुँ, मलाई मेरी आमाको मुहार पढ्न कठिन छैन् , उहाँको मन बुझ्न पहाड छैन। एउटा कोख रित्तिएको कथा सजिलै पढ्न सक्छु तर बुझाउन सक्दिन किनकी मेरो भाइ पनि त छैन। म बुझेर पनि अबुझ बन्न बाध्य छु। फुटेको मुटुले च्यात्तिएको मुटु कहाँ सिलाउन सकिन्छ र? यसका बावजुद पनि घटस्थापनाको अघिल्लो दिन ममीलाई नेपाल पठाएँ। संगिता र बवितामा खुसीका सीमारेखा कोर्न पनि मैले पठाउनुथियो। ताराको सम्झनामा भएपनि जमरा उमार्न भनेकी छु। सायद उमारिदैँछ।

यतिबेला म संझिरहेकी छु। मेरो गोलौराको माइती घर। जहाँ तारा छैन अब। रेखाले नेपालको नक्सारेखा काटेकी छ। तर हामीले त्यसरी हुर्काएका फूलहरु फक्रेका छन् कि छैनन् होला। लाग्छ, ती फूलहरु पनि ताराको सम्झनामा रोएका होलान्। रेखाको विछोडमा तड्पेका होलान्। सायद तारा भएको भए हाम्रो दशैं फरक बन्थ्यो। धेरै कल्पिन्छु, धेरै तडपिन्छु आँसुबाहेक केही हात पर्दैन।

यसपालि क्यालेन्डरमा दशैं आएको छ। घटस्थापनाको दिन पूजास्थलमा ताराको तस्बिर सजाएँ। उसैले पठाएर दिएका भगवानका तस्बिरहरु लस्करै टाँसे। पूजाका भाडाकुँडा धोएँ, अपार्टमेन्टमा सजाउन रोपेका केही फूल टिपेँ, अघिल्लो दिन नै समुद्र तटबाट ल्याएको बालुवामा माटो मिसाई जमरा छरेँ। दुई वर्ष पछि मेरो घरमा जमरा उम्रदै छ। नवदुर्गाको समयभरी मैले ताराकै प्रतिमामा पूजाआजा र बत्ती बालिरहेकी छु। मेरो भगवान भनेको अब एउटा नै छ, तारा। मान्छेहरु ढुंगालाई भगवान मान्छन्, म भाइलाई। जे माग्नु छ, जे पुकार्नु छ, जे आस्था अनि बिस्वास छ ताराप्रति नै छ। हरेक छाक खानुअघि तारालाई नदिई खाएकी छैन। मलाई थाहा छ तस्बिर अभौतिक हो, तर विश्वास सबैभन्दा महान रैछ। तस्बिरअगाडि दिएको खाना उसैले खाएको अनुभूति हुन्छ, हामीसँगै रहेको तृप्ति मिल्छ।

हर्ष र उल्लासले आउने दशैं मेरा लागि बाध्यता बन्दैछ। सात समुन्द्र पारिको देश, त्यसमाथि अंग्रेजी भाषा। रेगन र रोहनलाई दशैँ सिकाउन दशैं मनाउनु छ मलाई। दशैं पढाउन दशैं मनाउनु छ मलाई। घटस्थापनाको दिन पहिलोपल्ट अक्षता र फूलले पूजा गर्न सिकाउँदा कति रमाएको थियो रेगन। अब उस्को खुसी देख्न पनि मनाइदिनु छ मैले दशैं। मामालाई चिनाउन पनि मनाइदिनु छ मैले अब। मेरो च्यात्तिएको खुसीमा उनीहरुका खुसीका रंगहरु मार्न पाउँदिन । रंगहीन दशैंमा खुसीका रंगहरु खोजिदिनुछ मैले अब।

जुरे सुनकोसी नदीमा अझै १७ मिटर बाँध बाँकी छ।

सुनकोसी नदीमा अझै १७ मिटर बाँध बाँकी  छ।  बाँकी बाँधका कारण तल्लो तटीय क्षेत्रलाई कुनै खतरा भने रहेको छैन।


साउन १७ गते राम्चे र माङ्खा गाविसको सीमामा पर्ने जुरेमा गएको पहिरोले सुनकोसी नदी थुनिँदा करिब ४७ मिटर बाँध बनेको थियो। बाँधको पानीलाई सुरक्षित रुपमा घटाउन नेपाली सेनाले विष्फोट एवम् डोजरको प्रयोग गरेको थियो। 
 
सुनकोसी नदीको बहाव पूर्ववत् रुपमा फर्काउने सम्भावना छैन। कहीँ न कहीँ तालका रुपमा रहिरहने भो। तालका कारण तल्लो तटीय क्षेत्रलाई कुनै खतरा अहिले छैन, प्रमुख सेनानी सुरेशकुमार कार्कीले भने। 
 
करिब १० लाख टन माटो र ढुङ्गा पहिरोबाट खसेको थियो । सुनकोसी नदी थुनिँदा ८० लाख क्विसेक पानी जम्मा भई ताल बनेको थियो। सो तालको लम्बाइ बाह्रबिसे बजारतर्फ तीन किलोमिटरसम्म पुगेको थियो भने तालको गहिराइ १९० मिटर रहेको सेनाले जनाएको छ। 
 
सेनानी कार्कीले सेनालाई तालको पानी सुरक्षित रुपमा घटाउन सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको बताए। 
 
पहिरोबाट ३३ जनाको शव निकालिएको थियो। स–साना पहिरो खसिरहँदा तथा पहिरोको गहिराईलाई डोजरले समेत खन्न नसकेका कारण स्थानीय जिल्ला प्रशासनले १५६ जनालाई मृत घोषणा गरी आफन्तजनलाई राहत वितरण गरेको थियो। हालसम्म १४५ जनाका आफन्तजनले राहत पाइसकेका छन्। पहिरोका कारण १३४ घरका एक हजार ६८१ जना विस्थापित हुन पुगेका थिए। ती विस्थापितको अवस्था अहिले कष्टप्रद रहेको छ। 
 
प्रमुख सेनानी कार्कीले भने – पहिरो गएको माथिल्लो क्षेत्र कागुनेमा जमिन चर्केको छ । चर्काे घाम तथा अविरल पानी पर्दा पहिरो जाने खतरा भने रहिरहेको छ। यसलाई सम्बोधन गर्नु जरुरी छ । कागुने क्षेत्रबाट अहिले पनि पानीका छहरा पहिरोमा बगिरहेको देख्न सकिन्छ। 
 
पानी, पहिरो गएको जमिन माथिभन्दा मुनिबाट बगेका कारण पहिरोको जोखिम कायमै रहिरहेको हो। यही जोखिमका बीचमा स्थानीय व्यवसायीले सडक विभागको सहयोगमा पहिरो गएकै स्थानबाटै सडक निर्माण गरी अहिले अरनिको राजमार्ग आंशिक रुपमा सञ्चालन ल्याएका छन्।
 
पहिरोले तीन किलोमिटर बाटो पूर्णरुपमा क्षति पु¥याएको थियो। आंशिक रुपमा तयार भएको सो बाटोबाट मालबाहक कन्टेनर पार गर्न कम्तीमा एकदिन पालो पर्खनुपर्ने अवस्था छ।

ओबामा र मोदी 'चले साथ साथ'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रि व्रत राखेका करण अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनीसँगै बसेर रोटी खान पाएनन् तर राजनीतिक सहकार्य र अन्तरङ्ग कुराकानीका निम्ति भ्रमण फलदायी बनाउन यसले रोकेन।

ओबामा र मोदीबीच पहिलो पटक सोमबार साँझ एकअर्काबीच भेट भयो। यो कुटनीतिक भेटका निम्ति गरिएको भगिरथ तयारीको बयान गरी साध्यै छैन। करिब दुई घण्टा लामो अनौपचारिक छलफलपछि …चलेँ साथ साथ' (सँगै अघि बढौं) शीर्षकको अवधारणा पत्रसमेत यी दुई नेताले तयार पारेका छन्।

विश्वका ठूला ठूला प्रजातान्त्रिक मुलुकका नेताहरूले संयुक्त लेख लेखेर सबैलाई आश्चर्यमा पारेका छन्। यी दुबै नेताको संयुक्त 'बाइलाइन'को लेख बिहीबार एउटा प्रमुख अखबारमा छापिने भएको छ।

लेखमा उनीहरूको 'अवधारणा वक्तव्य' प्रतिबिम्वित हुने भएको छ। यसले अमेरिका–भारत सहकार्यलाई मात्र होइन अहिले दुई देशबीचको सम्बन्धलाई अर्को उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। उनीहरूबीच गहिरो र प्रतिवद्धतापूर्ण सुरक्षा साझेदारीमा विशेष जोड दिइनेछ।

'हाम्रो रणनीतिक साझेदारी सम्वृद्धि र शान्तिक निम्ति संयुक्त पहल हो। घनीभूत परामर्श, संयुक्त अभ्यास र एकअर्काबीच आदानप्रदान गरिएको प्रविधिले हाम्रो सुरक्षा साझेदारीमार्फत् क्षेत्र र विश्वलाई सुनिश्चित र सुरक्षित तुल्याउनेछ। हामी दुबैले आतंकारीविरुद्ध लड्नेछौं र आक्रमणहरूबाट हाम्रो मातृभूमि र नागरिकलाई सुरक्षित तुल्याउने छौं, साथै मानवीय विपत्ति र संकटका बेला तत्कालै संवोधन गर्न सक्ने छौं,' यसमा भनिएको छ।

केम छो, मिष्टर प्रधानमन्त्री?

राष्ट्रपति ओबामाले मोदीलाई गुजरातीमै सोधेका थिए, 'केम छो मिष्टर पाइमिनिष्टर?' गुजरातीमा तपाईंलाई कस्तो छ? भनेर सोध्दा …केम छो' भनिन्छ। मोदीले भने उनलाई अंग्रेजीमै संवोधन गरेका थिए।

रात्रिभोजमा भने मिसेल ओबामा क्याम्पेनमा गएका कारण उपस्थित हुन सकिनन्। रात्रिभोज अर्ध–औपचरिक भएको थियो। आफ्नो नवरात्रि व्रत परेको हुनाले तातोपानी मात्र पिएका मोदीले आतिथेय र सहयोगीलाई भने अप्ठ्यारो नमानी खाना खान आग्रह गरेका थिए। वरिष्ठ अधिकारी र सहयोगीहरूले हलिवुट माछा केसर बासचामलको भात र क्यालिफोर्निया वाइन लिएका थिए।

रात्रिभोजका क्रममा ओबामा र मोदीले आफ्नो राजनीतिक यात्राबारे जानकारी गराएका थिए। इबोला, अफगानिस्तान र अन्य द्विपक्षीय विषयमा प्रवेश गर्नुअघि उनीहरूले आ–आफ्ना निर्वाचन अभियानबारे समेत कुराकानी गरेका थिए।

'यो खुला छलफल थियो। दुबै पक्षले आगामी केही वर्षमा व्यापक उपलब्धि हासिल गर्न ध्यान दिनुपर्ने व्यापक विषयमा पनि धारणा व्यक्त भएका थिए,' विदेश मन्त्रालयका प्रवक्ता सैयद अकवरुद्दिनले भने। 

एकै घरका चार जनाको रहस्यमय हत्या

लमजुङ, आश्विन १५ - लमजुडको भोटेओडार-४ पिप्लेमा एकै घरका चार जनाको रहस्यमय हत्या भएको छ । बुधबार विहान घरभित्रै चार जनाको शव भटिएपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले घरको जेठो छोरालाई नियन्त्रणमा लिएको छ ।


६० वर्षीय अर्जुनप्रसाद रेग्मी, उनको १४ वर्षीया छोरी ज्योति रेग्मी, धर्मछोरी ३५ वर्षीया रिना घिमिरे,  १२ वर्षीय नाति विकास रेग्मीको शव भेटिएको छ । रेग्मीका जेठा छोरा राममणि रेग्मीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपनिरिक्षक अच्युत पुडासैनीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भोटेओडारमा प्रहरी निरिक्षक नारायण रञ्जितकारका अनुसार घटनास्थलमा खुर्पा र दाउराका चिरपटहरु रहेकाले मंगलबार राति नै हत्या भएको जनाए ।

घटनास्थलमा डीआइजी बम बहादुर भण्डारीसहित प्रहरीको विषेश टोली आइपुगो छ । अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ ।  डीआइजी भण्डारीले घटनाको घरायसी रिसइवीले घट्ना हुनसक्ने शंका व्यक्त गरे । उनले अनुसन्धान थालिएकोले वास्तविकता छिट्टै बाहिर आउने बताए ।

मृतक अर्जुनका भतिज चोलाप्रसाद रेग्मी बुधबार विहान ७ बजेतिर पानी हेर्न गएको बेला सव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानिय बासिन्दाका अनुसार अर्जुनप्रसादका दुई श्रीमति छन् ।

कान्छी श्रीमतिको पहिले नै मृत्यु भैसकेको र जेठी श्रीमति छोराछोरीसहित भोटेओडारमा बस्दै आएका थिए । अर्जुनप्रसाद भने धर्मछोरी रिनाका साथ पिप्लेमा बस्दै आएका थिए । भारतमा सेकुरेटी गार्डको रुपमा काम गर्दै आएका अर्जुनप्रसाद दशैं मान्न आइतबार मात्र घर आएका थिए । उनीहरुको घरबाट करिब १५/२० मिटर पर अन्य घर भएकाले छिमेकीले घटनाबारे केही थाह नभएको बताएका छन् ।

आइटम डान्सलाइ अन्यथा सोच्न नहुने : चित्राङ्गा

मुम्बई । सुधिर मिश्राको फिल्म ‘हजारौं ख्वाहिस’ मा काम गर्दा अभिनेत्री चित्राङ्गालाइ लागेको थियो । ‘अब राम्रो भुमिका पाउनका लागि कुनै संघर्ष गर्नुपर्ने छैन ।

अक्षय कुमार र जोन अब्राहमसंगै अर्को फिल्म ‘देशी ब्वाइज’ मा पनि काम गरिन् । त्यसपछि अन्य गतिला फिल्मवाट उनलाइ प्रस्ताब आएन ।

मुम्बइमा आयोजित एक कार्यक्रममा उपस्थित यी नायिकाले आझै आशावादी रहेको बताइन् । ‘मलाइ कुनै गुनासो छैन । म संग क्षमता नभएको भए पक्कै अभिनय अघिल्ला फिल्ममा गराउदैन थिए होला ।’ उनले भनिन् ।

आफु राम्रो भुमिकाको खोजीमा भएकै कारण केही फिल्मको प्रस्ताब अस्वीकार गरेको उनको भनाइ छ ।
केही फिल्ममा आइटम डान्स पनि गरेकी छिन् उनले । आइटम डान्सलाइ अन्यथा सोच्न नहुने उनको भनाइ छ । आइटम डान्स कलाकै एउटा विधा भएकाले खुशीले काम गरेको बताइन् ।

त्यसो त उनलाइ केही टेलिभिजनवाट पनि कामका लागि प्रस्ताब आएको थियो । तर, काम गरिनन् । उनको अभिनय गरेका फिल्मको बक्स अफिस नतिजा पनि राम्रो छैन ।

गैरआवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष दीलबहादुर थापाद्वारा आत्महत्या

बैंकक । गैरआवासीय नेपाली संघ थाइल्याडका उपाध्यक्ष दीलबहादुर थापा (हरी)ले आत्महत्या गरेका छन् ।
उनले थाइल्याण्डस्थित आफ्नै कार्यालयको सौचालयमा सोमवार पासो लगाई आत्महत्या गरेका हुन् ।

थापाले पारिवारिक असन्तुष्टीको कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरेका छन् ।
आफ्नी थाइ श्रीमतीसग कुरा नमिलेको कारण जनाउँदै थापाले आफूले हिम्मत हारे पनि छोरालाई बहिनीको हेरविचार गर्न समेत सुसाईट नोटमार्फत आग्रह गरेका छन् ।

थापा थाइल्याण्डका ब्यवसायीसमेत हुन् । उनले थाइल्याण्डमा नै फुड कम्पनी सञ्चालन गर्दै आएका थिए ।
चियङमाईस्थित रोयल फ्लोरा नेपाली गार्डन बनाउदादेखि हरेक सामाजिक क्रियाकलापमा अग्रणी रहेका थापा दुई कार्यकाल एनआरएन थाइल्याण्डका उपाध्यक्ष रहेका थिए ।

बाग्लुङ जिल्लामा जन्मिएका थापा १५ बर्षदेखि थाइल्याण्डमा रहँदै आएका थिए ।
एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले सोमवार विज्ञप्ति जारी गरी थापाको निधनले सिंगो

एनआरएनलाई क्षति पुर्याएको जनाएका छन् । थाइ प्रहरीले घटनाबारे अनुसन्धान प्रक्रिया अगाडी बढाएको एनआरएन थाइल्याण्डले जनाएको छ ।